पाकिस्तानमा नवाजको नेतृत्वमा सरकार बनाउने गृहकार्य

काठमाडौं । पाकिस्तानको निर्वाचन आयोगले सार्वजनिक गरेको नतिजा अनुसार आम निर्वाचनमा एकल बहुमत ल्याउन दलहरु असफल भएका छन् । यसअनुसार अब पाकिस्तानमा गठबन्धन सरकार बन्ने पक्का भएको छ ।

पाकिस्तानमा बिहीबार भएको निर्वाचनमा कुनै दललाई पनि बहुमत नमिल्ने देखिएको हो । जेलमा रहेका इमरान खान नेतृत्वको स्वतन्त्र उम्मेदवारहरूको समूहले सबैभन्दा ठूलो जित निकालेका छन्।
ताजा अवस्थामा इमरान समर्थक स्वतन्त्र उम्मेदवारहरूले ९९ सिट जितिसकेका छन्।

अहिलेसम्म २६५ मध्ये २५० सिटको छिनोफानो भइसक्दा इमरान समर्थकले ९९, नवाज शरिफसम्बद्ध पाकिस्तान मुस्लिम लिगले ७१ र बिलावल भुट्टो नेतृत्वको पाकिस्तान पिपुल्स पार्टीले ५९ सिटमा जित निकालेका छन्।

बहुमतका लागि १३४ सिट चाहिनेमा तीनै पक्ष त्यसमा असफल भएका छन्। यस्तो अवस्थामा नवाज र बिलावल गठबन्धन सरकार बनाउन तयार भएका छन्।

पीपीपी र पीएमएल(एनले मिलेर सरकार बनाउने कुरामा सहमति जनाएका हुन्।
पूर्व राष्ट्रपति आसिफ अली जरदारी र पीपीका प्रमुख बिलावल भुट्टो जरदारीले शुक्रबार राति लाहौरमा पीएनएल एन प्रमुख शाहबाज शरिफसँग वार्ता गरेका छन्।

यस्तोमा दुवै पार्टी देशमा राजनीतिक र आर्थिक स्थिरता ल्याउन मिलेर सरकार बनाउन तयार भएको जनाएका छन्।
यी दुई दल मिल्दा १३० सिट हुन्छ। जम्मा २६५ सिटकै परिणाम आइसक्दा दुई दलको बहुमत पुग्ने अवस्था छ।