गैर आवासीयलाई पनि नागरिकता

तनहुँ । तनहुँबाट २२ जनाले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सफल भएका छन् । जिल्ला प्रशासन कार्यालय तनहुँका प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमका अनुसार हालसम्म २२ वटा गैरआवासीय नेपाली नागरिकता जारी भएका छन् ।

सम्बन्धित वडाको सिफारिससहितको निवेदन, नेपाली नागरिकता त्याग गरेको प्रमाण नेपाली नागरिकताको प्रमाणपत्र, विदेशी मुलुकको नागरिकता नागरिक भएको प्रमाण, हाल नागरिक रहेको मुलुकबाट लिएको राहदानीको प्रतिलिपिसहितका कागजात पेस गरेको खण्डमा सम्बन्धित प्रशासन कार्यालयबाट गैरआवासीय नेपाली नागरिकता प्रदान हुनसक्ने व्यवस्था छ ।

गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्रको हकमा राजनीतिक तथा प्रशासनिक अधिकारबाहेकका सम्पूर्ण अधिकार प्रयोग गर्न पाउने व्यवस्था रहेको प्रमुख जिल्ला अधिकारी गौतमले जानकारी दिए ।

नेपाल नागरिकता तेस्रो संशोधन नियमावली, २०८० लागू भएपछि गैरआवासीय नेपाली नागरिकता प्रमाणपत्रको नयाँ व्यवस्था सुरु भएको कार्यालयले जनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले गत जेठमा नागरिकतासम्बन्धी संशोधन ऐन प्रमाणीकरण तथा भदौमा मन्त्रिपरिषद्ले नियमावली पारित गरेपछि गैरआवासीय नेपालीलाई नागरिकता लिने बाटो खुलेको थियो ।

प्रजिअ गौतमले भने, ‘‘गैर आवासीय नागरिकताको बारेमा चासो राख्दै विदेशमा रहेका नेपाली तथा उनिहरुका आफन्त दिनहुँ कार्यालयमा आउने गरेका छन् ।’’