४० बुँदे माग सहित राप्रपाले चरणवद्ध अन्दोलन घोषणा गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारसँग ४० बुँदे माग राख्दै चरणबद्ध आन्दोलनको घोषणा गर्ने भएको छ। राजसंस्था र हिन्दुराष्ट्रको पुनःस्थापना, प्रदेश संरचनाको खारेजी लगायतका ४० बुँदे माग राखेर प्रधानमन्त्रीलाई आज ज्ञापन पत्र बुझाउन लागेको राप्रपाका प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिए।

राप्रपाका आन्दोलन प्रचार समिति संयोजक श्रेष्ठका अनुसार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई र देशका सबै जिल्लामा प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई आज ज्ञापन पत्र बुझाउने कार्य तय भएको छ।

राप्रपाले राजसंस्था र हिन्दुराष्ट्रको पुनःस्थापना, प्रदेश संरचनाको खारेजी, बलियो केन्द्र र अधिकारप्राप्त स्थानीय तह रहेको दुई तहको सरकार, भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति लगायत राष्ट्रियता, विकास, सुशासन, सेवाप्रवाह एवं जनजीविकासंग प्रत्यक्ष सम्बन्धित तथा मूलुकको दीर्घकालीन हितका विभिन्न ४० बुँदे माग राखेको छ।

श्रेष्ठका अनुसार राप्रपाले आज दबावमूलक र्‍यालीको आयोजना गर्दैछ। दिउँसो १२स्३० बजे भृकुटीमण्डपबाट शुरु हुने र्‍याली भद्रकाली, सुन्धारा, बीर हस्पिटल, रत्नपार्क हुँदै पुनः भृकुटीमण्डप पुग्ने, भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुनेछ। भृकुटीमण्डपमा हुनेसभालाई प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाइसकेपछि अध्यक्ष लिङ्देन लगायतका नेताहरुले सभालाई सम्बोधन गर्ने उनले बताए।