यी हुन् कतारका राजालाई उपहार दिन लागिएको रोनाल्डोका सन्तान

वैशाख । कतारका अमिर सेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका अवसरमा उपहार दिन लागिएका दुई हात्तीले त्यस्तो सम्बन्ध स्थापना गराउने भएका हुन् अर्थात् दुई हात्तीको नाम रोनाल्डो रहेको छ ।

नेपालले कतारलाई रोनाल्डोका सन्तान उपहार दिनु मात्र सम्बन्धको कडी होइन, नेपालले उपहारमा पाएका हात्तीबाट विस्तार भएको बथानबाट दुई हात्ती उपहारमा नै दिनु नेपालका लागि गर्वको विषय पनि बनेको छ । यो घटना नेपालले अन्तर्राष्ट्रिय जगत्लाई हात्ती उपहारमा दिन लागेको पहिलो पनि हो ।

सैँतिस वर्षअघि मित्रराष्ट्रहरू उपहारमा प्राप्त हात्ती लिएर स्थापना गरिएको हात्ती प्रजनन केन्द्रमा जन्मेका दुई हात्ती कतारलाई दिन लागिएको हो । २०४४ मा भारतबाट १६, म्यानमारबाट दुई र थाइल्यान्डबाट दुई गरी उपहार पाइएका २० वटा हात्ती राखेर स्थापना गरिएको हात्ती प्रजनन केन्द्र खोरसोर सौराहा चितवनमा जन्मी हुर्की गरेका दुई हात्ती कतारलाई उपहार दिन लागिएको हो ।

तिनै २० हात्तीबाट प्रजनन केन्द्रमा ६२ वटा वंश विस्तार भएका छन् । तीमध्ये ५५ वटा तालिम प्राप्त छन् र सात वटा छावा नै छन् भने चार वटाको मृत्यु भएको छ । प्रजनन केन्द्रका प्रमुख मनिपुरन चौधरीले उपहार दिने हात्तीलाई सबै सिप सिकाइएको जानकारी दिए । “पाँच वर्षको खगेन्द्र र छ वर्षकी रुद्रकलीलाई आवश्यक सबै सिप सिकाइएको छ,” उनले भने।

प्रजनन केन्द्रमा जन्मेका छ वर्षकी रुद्रकली र पाँच वर्षको खगेन्द्रप्रसाद कतार पठाउन लागिएका हुन् तर तिनका बाउ भने प्रजनन केन्द्रमै रहेका होइनन् । प्रजनन केन्द्रमा रहेकी आमा पूजाकलीबाट २०७५ असोज २३ मा जन्मेकी रुद्रकली र २०७६ असोज ८ गते कोशीकलीबाट जन्मिएको खगेन्द्रप्रसाद दुवैको बाउ भने जङ्गली हात्ती रोनाल्डो रहेको छ ।

प्रजनन केन्द्रका प्रमुख मनिपुरन चौधरीले कतारलाई दिन लागिएका दुवै हात्ती रोनाल्डोका नै सन्तान रहेको जानकारी दिए । “अहिले प्रजनन केन्द्रमा जन्मने अधिकांश हात्तीका बच्चा जङ्गलीकै सन्तान हुन्,” उनले भने, “प्रजनन केन्द्रमा रहेका भाले हात्तीलाई जङ्गली हात्तीले आक्रमण गरेर मारेपछि अहिले त्यहाँ जङ्गलीकै भर पर्नुपर्ने बाध्यता छ ।”

२०५७ सालमा जङ्गली हात्तीको आक्रमणमा प्रजनन केन्द्रको धीरेन्द्रप्रसाद मरेको थियो । यसपछि ऐरावतगज र शेरप्रसादलाई पनि जङ्गली हात्तीले आक्रमण गरी मारेको प्रजनन केन्द्रले जनाएको छ । त्यसपछि त्यहाँका अधिकांश सन्तान जङ्गली बाउकै हुन् ।

जङ्गलीमा पनि अधिकांश रोनाल्डोका नै सन्तान भएको प्रमुख चौधरीले जानकारी दिए । रोनाल्डोका अतिरिक्त प्रजनन केन्द्रका ढोईसँग धु्रवे, गोविन्देलगायतका जङ्गली हात्तीले पनि रासलीला मनाउने गर्दछन् । यसअघि प्रजनन केन्द्रका ढोईसँग पल्केको नाना पाटेकर नामको हात्ती भने मरेको बताइन्छ ।