बाढी, पहिरो डुवानमा परी आठ जनाको ज्यान गयो

काठमाडौँ । भारी वर्षासँगै आएको बाढी, पहिरो र डुबानलगायत कारण नेपालका विभिन्न क्षेत्रमा अहिलेसम्म आठजनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार अहिलेसम्म विपद्जन्य घटनामा परेर अन्य छजना बेपत्ता भएका छन् भने सातजना घाइते भएका छन् । देशभर गरेर ४५ ठाउँभन्दा बढी क्षेत्रका सडक आवागमन अवरुद्ध भएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जनाएका छन् ।

कार्कीका अनुसार विपद्जन्य घटनामा परेर स्याङ्जामा तीन, पर्वतमा दुई, काठमाडौँमा एक र काभ्रेमा खोलाले बगाएर दुईजनाको मृत्यु भएको छ ।

प्रवक्ता कार्कीले दाङमा दुई, तनहुँमा तीन, दोलखामा एक गरी छजना बेपत्ता भएका जानकारी दिए । अहिलेसम्म तनहुँ, गुल्मी ओखल्ढुङ्गामा गरेर सातजना घाइते भएका पनि प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

भारी वर्षाका कारण देशभरकै जनजीवन प्रभावित भएको छ । कोशी नारायणीलगायतका ठूला नदीमा जलसतह उच्च भएको छ भने अन्य साना खोला खहरे पनि उर्लिएको छ । तीनवटै सुरक्षा निकाय हाईअलर्टका साथ प्रभावित क्षेत्रमा परिचालन भई खोज तथा उद्धार जारी राखेका छन् ।