काठमाडौँ । राजधानीमा जारी राष्ट्रिय महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले वालिङ नगरपालिकालाई पराजित गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा आर्मीले १० खेलाडीमा सिमित स्याङ्जाको वालिङलाई २–० गोल अन्तरले पराजित गरेको हो ।
आर्मीलाई जित दिलाउन शर्मिला थापा र विमला चौधरीले एक एक गोल गरिन् । खेलको ८३ औं मिनेटमा वालिङ १० खेलाडीमा समेटिएको थियो । वालिङकी क्यामरुनी डिफेन्डर किओमेग्ने भेनेसा नोईली दुई पहेलो कार्ड पाउँदै मैदानबाट बाहिरिएकी थिइन् ।
जितसँगै आर्मीले ८ खेलमा १९ अंक जोडेको छ । आर्मी लिगको दोस्रो स्थानमा रहेको छ । वालिङ ८ खेलमा ११ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
त्यस्तै मंगलबार नै भएको अर्को विभागीय टिम नेपाल पुलिस क्लबले सहज जित निकालेको छ ।
पुलिसले विराटनगर महानगरपालिकालाई ३–० गोल अन्तरले पराजित गरेको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा पुलिसलाई जित दिलाउन निरु थापाले दुई गोल गरिन् । यस्तै निर्मला उपाध्यायको नाममा एक गोल रह्यो ।
विराटनगरलाई हराएसँगै पुलिस लिगको चौंथो स्थानमा उक्लिएको छ । पुलिसले ८ खेलमा ११ अंक जोडेको छ । विराटनगर ८ खेलमा १० अंक जोडेको छ
Add Comment