सात करोड ठगी गरेको आरोपमा महानगरका पूर्व वडाअध्यक्ष विष्ट पक्राउ

काठमाडौं महानगरपालिकाका वडा नं ४ का पूर्व वडा अध्यक्ष मोहन बहादुर विष्टलाई ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । प्रहरीले विष्टलाई शुक्रबार नै पक्राउ पुर्जि सहित पक्राउ गर्न खोजे पनि उनी फरार थिए । शनिबार विहान उनलाई शंखपार्कबाट प्रहरीले पक्राउ गरेको हो ।

नेकपा एमालेका तर्फबाट २०७४ सालको स्थानीय तहको निर्वाचनमा वडा नं. ४ बाट निर्वाचित विष्ट जेष्ठ नागरिक भत्ता अनियमितता गरेको आरोपमा त्यस बेला पनि मुद्दा खेपेका थिए ।

सार्वजनिक जग्गा संरक्षण गर्ने भन्दै वडा अध्यक्ष भएका बखत स्थानीय वासीहरुको घर टहरा भत्काउन डोजर लिएर पुग्ने विष्ट आफैले धुम्वाराही चक्रपथ चोकबाट मण्डिखाटार जाने पुरानो बाटो अहिलेसम्म पनि अतिक्रमण गरिरहेका छन् ।
जग्गा विक्री गर्ने भन्दै तारकेश्वर वडा नं ८ मनमैजू बस्ने राजेन्द्र कोइरालाबाट ५ करोड रुपैयाँ बैना स्वरुप लिएको र पछि १ करोड ९७ लाख गरी जम्मा करीव सात करोड रुपैयाँ लिएर जग्गा पास नगरी आलटाल गर्दै आएका थिए ।

करीव ३ वर्षदेखि पैसा लिएर रकम फिर्ता नगेरपछि कोइरालाले प्रहरी परिसर टेकुमा उजुरी समेत गरेका थिए । कोइराला र विष्ट वीच पटक पटक प्रहरी परिसरमा छलफल भएपनि विष्टले रकम फिर्ता नदिए पछि उनले पुन ठगी मुद्दा दायर गरेको थिए । पक्राउ परेका विष्टलाई अहिले प्रहरी परिसरमा राखिएको छ ।

विभिन्न आरोप खेपिरहेको विष्टलाई २०८० बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा एमालेले टिकट नदिएपछि एमाले छाडेर प्रदेश सभामा स्वतन्त्र रुपमा उम्मेदावरी दिएका थिए । विष्ट अझै पनि आफूलाई नेकपा एमालेका उपाध्यक्ष ईश्वर पोखरेल नजिकको भन्दै आफूलाई जोगाउने प्रयास गरिरहेका छन् ।