सशस्त्र प्रहरी बल नेपालले संगठनको निर्देशनविपरित सामाजिक सञ्जालमा पोशाक लगाई विभिन्न क्रियाकलाप गरेको तस्बिर तथा भिडियो अपलोड गरेका १२० जना सशस्त्र प्रहरी कर्मचारीलाई विभागीय कारबाही गरेको छ।
सशस्त्र प्रहरी बलका प्रवक्ता कुमार न्यौपानेका अनुसार कारबाहीमा परेका कर्मचारीहरूमा चार जना प्रहरी नायब निरीक्षक, पाँच जना सहायक निरीक्षक, छ जना वरिष्ठ हवल्दार, तीन जना हवल्दार, नौ जना सहायक हवल्दार, ९१ जना जवान र दुई जना परिचर छन्। उनीहरूलाई नसिहत, बढुवा रोक्का, चेतावनी, सचेत, ध्यानाकर्षण तथा मौखिक सम्झाइबुझाइ गरिएको छ।
सङ्गठनको नियमविपरित कार्य गर्ने जुनसुकै दर्जाका सशस्त्र प्रहरी कर्मचारीलाई नियमन गर्न सशस्त्र प्रहरीले सामाजिक सञ्जाल अनुगमनसम्बन्धी शाखा स्थापना गरेको छ। साथै, सामाजिक सञ्जालमा अमर्यादित ढङ्गको तस्बिर तथा भिडियो अपलोड गर्ने २८ जना सशस्त्र प्रहरी कर्मचारीहरूमाथि विभागीय कारबाही गरी सोको विवरण यथाशीघ्र खुलाई पठाउन मातहत कार्यालयलाई निर्देशन दिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ।
Add Comment