परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आफ्नो साताव्यापी जेनेभा भ्रमणलाई सफल र उपलब्धिमूलक भएको बताएकी छन् । संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ५८औँ उच्चस्तरीय सत्रमा भाग लिन जेनेभा गएको मन्त्री देउवा शुक्रबार स्वदेश फर्केकी हुन्।
मङ्गलबार परिषद्को उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दै मन्त्री देउवाले नेपालले मानवअधिकार प्रवर्द्धनमा सक्रिय भूमिका खेलेको जानकारी गराउँदै सन् २०२७–२०२९ का लागि परिषद्को सदस्य पदमा उम्मेदवारी दिएको बताइन्। साथै, नेपालले सन् २०२९–२०३१ का लागि संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद् र सन् २०३७–२०३८ का लागि सुरक्षा परिषद्को अस्थायी सदस्य बन्ने लक्ष्य राखेको भन्दै अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको अपिल गरिन्।
भ्रमणका क्रममा उनले मानवअधिकार उच्च आयुक्त भल्कर टकसँग भेटवार्ता गरी नेपालमा मानवअधिकार र संक्रमणकालीन न्यायको अवस्थाका बारेमा जानकारी गराउनुभयो। स्वीट्जरल्याण्ड, नर्वे, स्पेन, स्लोभाकिया, फिलिपिन्स, अजरबैजान, किर्गिस्तान, मेक्सिको लगायतका मुलुकका समकक्षीहरूसँग पनि उहाँले द्विपक्षीय हितका विषयमा छलफल गरिन्।
जेनेभामा आयोजित स्वागत समारोहमा १०० भन्दा बढी मुलुकका प्रतिनिधिहरूसँग नेपाललाई मानवअधिकार परिषद्को सदस्य बनाउन समर्थन गर्न आग्रह गरिएको थियो।
६ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री देउवा गत शनिबार जेनेभा गएकी थिइन्। नेपाल फर्कने क्रममा मौसम खराबीका कारण कतार एयरवेजको विमान कोलकाता डाइभर्ट गरिएको थियो, जसका कारण उहाँ अपराह्न मात्र काठमाडौं आइपुगेको थिइन्।
Add Comment