आजकल मानिसहरू स्वास्थ्य र फिटनेसलाई लिएर विभिन्न प्रकारका उपवास तथा डाइट योजना अपनाउँछन्। तर के तपाईंले कहिल्यै पानीको व्रतको बारेमा सुन्नुभएको छ? यो उपवासमा २४ देखि ७२ घण्टासम्म व्यक्ति केवल पानी मात्र पिउँछ र कुनै पनि ठोस आहार लिँदैन।
तर, के वास्तवमै यो स्वास्थ्यका लागि फाइदाजनक छ वा यसका केही नकारात्मक प्रभावहरू पनि हुन सक्छन्? शरीरलाई डिटक्स गर्न, तौल घटाउन वा पाचन प्रणालीलाई सुधार गर्न यो विधि उपयोगी हुनसक्छ, तर यसले के कस्ता चुनौतीहरू ल्याउन सक्छ भन्ने विषयमा बुझ्नु जरुरी छ।
वाटर फास्टिङ के हो?
वाटर फास्टिङ भनेको यस्तो उपवास हो, जसमा व्यक्ति केवल पानी मात्र पिउन सक्छ र कुनै पनि प्रकारको ठोस आहार ग्रहण गर्न पाइँदैन।
१.यो २४, ४८ वा ७२ घण्टासम्म गर्न सकिन्छ।
२.शरीरलाई प्राकृतिक रूपमा डिटक्स गर्न तथा तौल घटाउन कतिपय व्यक्तिहरूले यसलाई अपनाउँछन्।
३.यो इन्टरमिटेन्ट फास्टिङ भन्दा फरक हुन्छ, किनभने त्यसमा केही घण्टाको उपवासपछि खान अनुमति हुन्छ, तर वाटर फास्टिङमा केवल पानी मात्र पिउन पाइन्छ।
४.यसले विभिन्न स्वास्थ्य लाभ दिन सक्छ, तर यसको साइड इफेक्टबारे पनि जान्नु आवश्यक छ।
वाटर फास्टिङका फाइदा
१. शरीरको डिटक्सिफिकेशन
हाम्रो शरीरमा दैनिक खानपान तथा वातावरणीय कारणले विभिन्न हानिकारक तत्व जम्मा हुन्छन्। वाटर फास्टिङ गर्दा शरीरले यस्ता विषाक्त पदार्थहरूलाई बाहिर निकाल्न मद्दत गर्छ। यसले लिभर र मिर्गौलालाई शुद्ध गर्ने र पाचन प्रणालीलाई आराम दिने काम गर्छ।
२. तौल घटाउन मद्दत गर्छ
यदि तपाईं छिटो तौल घटाउन चाहनुहुन्छ भने वाटर फास्टिङ उपयोगी हुनसक्छ। शरीरले बाहिरबाट कुनै पनि क्यालोरी नपाउँदा संचित बोसो लाई ऊर्जामा रूपान्तरण गर्न थाल्छ, जसले बोसो जल्दै जान्छ।
३. सुगरको नियन्त्रणमा सहयोग गर्छ
वाटर फास्टिङले शरीरको इन्सुलिन संवेदनशीलता बढाउने भएकाले रगतमा सुगरको स्तर नियन्त्रणमा मद्दत गर्छ। टाइप-२ डायबिटीज हुने जोखिम भएका व्यक्तिहरूका लागि यो लाभदायक हुनसक्छ। तर, डायबिटीज भएका बिरामीहरूले यो उपवास गर्नु अघि चिकित्सकको सल्लाह लिनुपर्छ।
४. मुटु स्वस्थ राख्न सहयोग गर्छ
धेरै अध्ययनहरूले देखाएका छन् कि वाटर फास्टिङले कोलेस्ट्रोल तथा रक्तचापलाई नियन्त्रण गर्न सहयोग गर्न सक्छ, जसले मुटु रोगको जोखिम कम गर्न मद्दत गर्छ। साथै, यसले शरीरमा हुने सूजन कम गर्छ, जसले समग्र स्वास्थ्य सुधार गर्छ।
५. अटोफेजी प्रक्रिया सक्रिय पार्छ
अटोफेजीभनेको शरीरको पुराना तथा क्षतिग्रस्त कोशिकाहरूलाई हटाएर नयाँ स्वस्थ कोशिकाहरू निर्माण गर्ने जैविक प्रक्रिया हो। यसले बुढ्यौली ढिलो गराउन, प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन तथा विभिन्न गम्भीर रोगहरूबाट बच्न सहयोग गर्छ।
वाटर फास्टिङका सम्भावित हानिहरू
१. कमजोरी र टाउको दुख्ने समस्या
शरीरलाई आवश्यक पोषण नपुग्दा थकान, कमजोरी र टाउको दुख्ने समस्या हुनसक्छ।
२. डिहाइड्रेसन (शरीरमा पानीको कमी)
पर्याप्त मात्रामा पानी नपिउने हो भने शरीरमा पानीको कमी हुनसक्छ, जसले थकान, चक्कर लाग्ने र छाला सुक्खा हुने समस्या निम्त्याउन सक्छ।
३. मेटाबोलिज्ममा असर पर्न सक्छ
बारम्बार वाटर फास्टिङ गर्दा शरीरको मेटाबोलिज्म सुस्त हुनसक्छ, जसले लामो समयपछि तौल बढ्ने सम्भावना रहन्छ।
४. केही व्यक्तिहरूका लागि सुरक्षित नहुन सक्छ
डायबिटीज, उच्च वा निम्न रक्तचाप, गर्भावस्था, वा कुनै गम्भीर रोग भएका व्यक्तिहरूले वाटर फास्टिङ अघि चिकित्सकको सल्लाह लिनुपर्छ।
निष्कर्ष
वाटर फास्टिङले शरीरलाई डिटक्स गर्न, तौल घटाउन, मुटु स्वस्थ राख्न र शरीरका पुराना कोशिकाहरू नवीकरण गर्न मद्दत गर्छ। तर, यसले कमजोरी, डिहाइड्रेसन र मेटाबोलिज्ममा असर पार्न सक्छ। यदि तपाईंसँग कुनै स्वास्थ्यसम्बन्धी समस्या छ भने चिकित्सकको सल्लाह बिना लामो समयसम्म वाटर फास्टिङ नगर्नु उचित हुन्छ। साभार हिन्दी अनलाइन जागरबाट
Add Comment