शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा यही चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन निष्पक्ष, तटस्थ र शान्तिपूर्ण बनाउन आग्रह गरेको छ।
मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाद्वारा जारी विज्ञप्तिमा सबै विद्यार्थी सङ्गठनलाई निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न अनुरोध गरिएको छ। मन्त्रालयले आचारसंहिताविपरीतका गतिविधि कानुनबमोजिम दण्डनीय हुने बताउँदै आवश्यक कारबाही गर्न प्रतिबद्ध रहेको जनाएको छ।
स्ववियु निर्वाचनको पूर्वसन्ध्यामा क्याम्पसका सार्वजनिक संरचनामा तोडफोड हुनु र निर्वाचन समितिका पदाधिकारीहरूलाई धम्की दिएको खबरप्रति मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मन्त्रालयले निष्पक्ष, पारदर्शी र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्न सबै पक्षलाई आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरेको छ।
त्रिविका आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा यही चैत ५ गते स्ववियु निर्वाचन हुने तय भएको छ।
Add Comment