पूर्वराजाको सक्रियता रोक्न कांग्रेस नेतृत्वमा राष्ट्रिय सरकारको पहल भएकै हो त?

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको हालैको सक्रियताप्रति चासो व्यक्त गर्दै नेपाली कांग्रेससहितका दलहरूले राष्ट्रिय सहमतिको सरकार गठन गर्ने पहल सुरु गरेका छन्।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलहरूबीच गणतन्त्रको रक्षा गर्न आवश्यक सहकार्यबारे छलफल भइरहेको नेताहरूले बताएका छन्।

ज्ञानेन्द्रले फागुन ७ यता गणतन्त्र पक्षधर दलहरूलाई ‘तर्साउने’ गरी आफू चुप नबस्ने अभिव्यक्ति दिएपछि प्रमुख दलहरू उनका अभिव्यक्तिविरुद्ध एक ठाउँमा उभिएका छन् ।

विशेषगरी माओवादी केन्द्रका नेताहरू यस विषयमा बढी सक्रिय देखिएका छन्। माओवादी सांसद लेखनाथ दाहालले गणतन्त्र पक्षधर सरकार निर्माणको सम्भावना बढ्दै गएको बताएका छन्।

तर, कांग्रेस प्रवक्ता डा. प्रकाशरण महतले ज्ञानेन्द्रको सक्रियताप्रति दलहरू सचेत रहे पनि सरकार गठन गर्ने विषयमा कुनै ठोस निर्णय नभएको बताए।

यसैबीच, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवाबीच पछिल्ला दिनमा टेलिफोन संवाद भएको खुलेको छ। यद्यपि, सो संवाद सरकार गठनभन्दा पनि गणतन्त्रलाई कसरी सुदृढ गर्ने भन्ने विषयमा केन्द्रित रहेको एक नेताले जनाए।यता, समाजवादी मोर्चाले चैत १५ गते काठमाडौँमा प्रदर्शन गर्ने तयारी गरेको छ।