पूर्वराजा ज्ञानेन्द्र शाहले भारतको जम्मु-कश्मीरस्थित पहलगाममा भएको आतंककारी आक्रमणप्रति गहिरो दुःख व्यक्त गरेका छन्। शनिबार एक समवेदना सन्देश जारी गर्दै शाहले उक्त आक्रमणमा हिन्दू तीर्थयात्रीहरूको मृत्यु भएकोप्रति शोक व्यक्त गरेका हुन्।
पूर्वराजाका संवाद सचिव फणिराज पाठकद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “छिमेकी मित्रराष्ट्र भारतको जम्मु कश्मीर पहलगाममा भएको आतंककारी आक्रमणका कारण धेरै हिन्दूवादी यात्रीहरूको दुःखद निधन भएकोमा हामीलाई अत्यन्त दुःख लागेको छ।”
पूर्वराजा शाहले आक्रमणमा ज्यान गुमाएका सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मृतक परिवारप्रति गहिरो समवेदना प्रकट गरेका छन्। विज्ञप्तिमा एक नेपाली नागरिकको पनि उक्त घटनामा ज्यान गएको उल्लेख छ।
शाहले “वसुधैव कुटुम्बकम्” अर्थात् “पूरा विश्व नै एक परिवार हो” भन्ने आदर्शको विपरीत यस्ता आतंकी गतिविधि हुनु गम्भीर पाप कर्म रहेको टिप्पणी गरेका छन्।
Add Comment