काठमाडौँ । सरकारले जलस्रोतसम्बन्धी विवादास्पद विधेयक फिर्ता गर्ने निर्णय गरेको छ। सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवै सदनबाट पारित भइसकेको विधेयक फिर्ता गर्ने निर्णय लिएको हो।
बैठकमा सहभागी एक मन्त्रीका अनुसार, विधेयकमा विदेशी स्वार्थ समेटिएको र राष्ट्रिय हितविपरीत प्रावधान रहेको आशंका उठेपछि निर्णय लिइएको हो। जलस्रोत विधेयकबारे मन्त्रिपरिषद्को बैठकमा लामो छलफल भएको थियो। विशेषगरी, प्रधानमन्त्री केपी शर्मा ओलीले यसप्रति गहिरो चासो व्यक्त गर्दै विदेशी दबाब र स्वार्थ समेटिएको भन्दै प्रश्न उठाएका थिए।
उक्त विधेयक २०८१ जेठ ३१ गते तत्कालीन ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्ति बहादुर बस्नेतले संसद्मा दर्ता गराएका थिए। तर, विधेयक प्रस्तुत भएयता नै विभिन्न राजनीतिक दल, विज्ञ र नागरिक समाजबाट व्यापक आलोचना हुँदै आएको थियो। सरोकारवालाहरूले यसले जलस्रोतमाथि विदेशी लगानीकर्तालाई अस्वाभाविक पहुँच दिने भन्दै आपत्ति जनाएका थिए।
प्रधानमन्त्री ओलीको स्पेन भ्रमण स्वीकृत
यसैबीच, मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी स्पेन भ्रमण पनि स्वीकृत गरेको छ।
उनलाई यही असार १४ गतेदेखि २० गतेसम्मको लागि स्पेन जान अनुमति दिइएको हो। प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघीय विकासका लागि वित्त कार्यक्रम सम्बन्धी चौथो सम्मेलनमा सहभागी हुन त्यहाँ जान लागेका हुन्।
उक्त सम्मेलनमा संयुक्त राष्ट्रसंघमा आबद्ध मुलुकका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूको सहभागिता रहनेछ। भ्रमण सम्पन्न गरेर ओली असार २० गते स्वदेश फर्किने कार्यक्रम रहेको सरकारी स्रोतले जनाएको छ।
Add Comment