विश्वास मानेर मित्र !

कहाँ जन्मिएँ खै कहाँबाट आएँ                     –   डिल्लीराज अर्याल
सिँगारी धरा फेरि अर्कै बनाएँ
सघाएर बस्थें हिजोसम्म मैले
सताएर छोड्दा म ऐले रमाएँ ।।
सँगीसाथ मिल्ने हुँदै गैरहेछु
बिगार्ने र तोड्ने स्वयं भैरहेछु
अरूले गरे भन्न खोज्ने भएछु
तिनैका कुरा सत्य ठान्दै गएछु ।।
बिचारी अलग्गै जसै हेर्न थालें
नियाल्ने अलग्गै जसै गर्न थालें
अलग्गै भएझैं सबै लाग्न थाल्यो
नयाँ चित्र यो चित्तले कोर्न थाल्यो ।।
सबैतर्फ नालायकी मात्र देखें
भए झैं प्रभावी उही युद्ध देखें
सबैतर्फ गाली चलेको छ देखें
भई उच्च थारो मकै ठिङ्ग देखें ।।
फुलाएर गाला बसेझैं शुभेच्छु
फुलाएर बारी बस्यो झार देख्छु
सबैका उही चाल उस्तै अवस्था !
कहाँ पाइएला र राम्रो व्यवस्था? ।।
कहाँ देख्नु आकाशमा जून तारा
अँध्यारो छ आकाश,पाताल सारा
ठुलै त्रास भोगी भयो वर्ष अन्त
नचिन्दै कुनै ग्रीष्म, वर्षा, वसन्त ।।
छु यो सोचमा आजको रात जान्छ
कतै यो निशाले स्वयं मात खान्छ
लुकी कक्षमा सिद्धिँदै रात रुन्छ
र राम्रो नयाँ भोलिको जन्म हुन्छ।।
निधो हो अँध्यारो बिलाएर जान्छ
बिहानी उज्यालो नयाँ हुन्छ हुन्छ
त्यसैको सुसम्भावना हुन्छ भित्र
र विश्वास पूरा मलाई छ मित्र ।।
कविता कविको फेसबुकबाट लिइएको हो ।