काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औं महाधिवेशन भदौभित्रै गर्ने प्रतिबद्धता जनाएका छन्। तर कोरोना भाइरसको बढ्दो संक्रमण र पार्टीभित्रको तयारी हेर्दा भदौमा महाधिवेशन सम्भव देखिएको छैन। महाधिवेशनका विषयमा आशंका बढ्दै गएपछि सभापति देउवाले बुधबार विज्ञप्ति नै जारी गरेर भदौमै महाधिवेशन गर्ने दोहोर्याएका छन्। ‘म देशभरिका पार्टीका सम्पूर्ण साथीहरूलाई स्पष्टताका साथ भन्न चाहन्छु( २०७८ साल भदौ महिनामा पार्टीको महाधिवेशन हुन्छ। म यसमा पूर्ण प्रतिबद्ध छु,’ देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पार्टीको महाधिवेशन प्राविधिक वा प्रशासनिक विषयमात्र नभएर यो एक महत्वपूर्ण राजनीतिक अभियान हो र पार्टीको जीवन्तताका लागि महायज्ञ हो भन्ने मैले राम्ररी बुझेको छु।’
अहिलेसम्म ४ लाख १९ हजार ९ सय ३९ नयाँसहित ८ लाख ३ सय १७ जनाले क्रियाशील सदस्यताका लागि आवेदन दिएका छन्। सदस्यता छानबिन समितिले त्यसको अन्तिम टुंगो लगाउने प्रक्रिया अझै थालेको छैन। महाधिवेशनको कार्यतालिकाअनुसार यसअघि नै सदस्यता छानबिनको काम टुंगो लागिसक्नुपर्ने थियो। अहिलेसम्म सदस्यता छानबिनको काम ठोसरूपमा अघि बढ्न सकेको छैन। नेता रामचन्द्र पौडेलसहितका संस्थापन इतर पक्षका नेता भने कुनै पनि हालतमा महाधिवेशन गर्नुपर्ने भन्दै नेतृत्वमाथि दबाब बढाउन थालेका छन्। जुनकुनै हालतमा पनि भदौभित्र महाधिवेशन गर्नुपर्ने बताउँदै नेता पौडेलले भने, ‘भदौभित्र कांग्रेस महाधिवेशन अनिवार्य छ । महाधिवेशन नगरे कांग्रेस सकिन्छ।’ नागरिक दैनिकबाट ।
Add Comment