ओलीलाई नेपालको कटाक्ष : गफाडीको गफलाई जनताले पत्याउँदैनन्


काठमाडाैं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले गफाडीको गफलाई जनताले पत्याउँदैनन्, प्रमाणिक कुरालाई मात्रै जनताले पत्याउँछन् भनी बताएका छन् । उनको कटाक्ष केपी शर्मातिर सोझिएको थियो । कामको नाममा माखो नमारी जनता झुक्याउन सिपालु केपी शर्मालाई उनले यस्तो कटाक्ष गरेको बुझिएको छ ।

साथै नेता नेपालले संसारभरका दम्भी शासकहरु जनताका अगाडि पतन भएको बताएका छन् । साथै समाजका भ्रष्टहरुले कांग्रेस र कम्युनिस्टलाई नचिन्ने नेता नेपालले बताएका छन् । ‘सत्ता यस्तो चिज हो, जसले दम्भ पैदा गर्दोरहेछ । सत्ताले मात्रै भ्रष्टीकरण ल्याउँदोरहेछ, बन्दुकले पनि ल्याउँदोरहेछ,’ शुक्रबार राजधानीमा कम्युनिस्ट नेता पुष्पलालको सम्झनामा आयोजित कार्यक्रममा एमाले नेता नेपालले भने, ‘जंगलमा बस्ने वित्तिकै त्यागी हुँदारहेनछन्, त्यहाँ पनि भ्रष्टहरु पैदा हुँदारहेछन् । त्यसैले उनीहरुलाई कारवाही गर्नु पर्दोरहेछ ।’

नेता नेपालले अगाडि भने, ‘म पुष्पलालको बाटोमा हिँड्न चाहन्छु । कक्षा ९ मा पढ्दाखेरि प्रगतिशील विचारबाट प्रभावित भएर आएको हो ।’

पहिले आफूलाई बदलेर मात्रै समाजलाई बदल्न सकिने नेता नेपालले बताए । नेता नेपालले भने, ‘गफाडीको गफलाई जनताले पत्याउँदैनन्, प्रमाणिक कुरालाई मात्रै जनताले पत्याउँछन् ।’