मिश्रजीले खुरुक्क थापाको राजावादी राप्रपामा प्रवेश गरे हुन्छ : संग्रौला

काठमाडौं। लेखक तथा नागरिक समाजका अगुवा खगेन्द्र संग्रौलाले विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गर्न सुझाव दिएका छन्।

विवेकशील साझाका अध्यक्ष मिश्रले सोमबार छलफल तथा बहसका लागि भन्दै ‘मार्ग परिवर्तन: विचारभन्दा माथि देश’ शीर्षकको दस्तावेज सार्वजनिक गरेका थिए। जसमा स्थानीय निकायलाई पुनर्संरचना र सुदृढ गर्दै संघीयता खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रह गर्ने विषयलाई मुख्य रुपमा उल्लेख गरिएको छ।

४४ पृष्ठ लामो प्रस्तावमा राष्ट्रिय एकताको प्रतिकका रुपमा राजाको स्वीकार्यता उच्च रहेको उल्लेख गरिएको छ। मिश्रको प्रस्तावले पार्टीमा पनि खैलाबैला मच्चिएको छ। पार्टीका अधिकांश नेताहरुले मिश्रको प्रस्तावप्रति असन्तुष्टि जनाएका छन्। उनको प्रस्तावको पार्टी बाहिरबाट पनि विरोध भइरहेको छ। यहिक्रममा नागरिक समाजका अगुवा संग्रौलाले राजनीतिक एजेण्डा एउटै भए राप्रपामा प्रवेश गर्न मिश्रलाई सुझाव दिएका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मिश्रलाई संघीयता खारेजी र धर्मनिरपेक्षतामा जनमत संग्रह चाहिएछ। कुराको चुरो यही हो भने यी नवमण्डलेले खुरुक्क कमल थापाको राजावादी राप्रपामा प्रवेश गरे हुन्छ।’