१३ दिनदेखि बेपत्ता भएका सुमनको खोजी कार्य जारी

काभ्रेपलाञ्चोक । १३ दिनदेखि बेपत्ता भएका नागरिकको खोजी कार्य जारी छ । पाँचखाल नगरपालिका–६ का ३६ वर्षीय सुमन ढुङ्गाना १३ दिनदेखि बेपत्ता भएका छन् । गत असार ३१ गतेदेखि सम्पर्कविहीन भएपछि खोजी तीव्र पारिएको परिवारले जनाएको छ ।

सुमनकी पत्नी सम्झनाले घरमा कसैलाई नभनी सम्पर्कविहीन भएको जनाउँदै खोजबिन गरिदिन पाँचखाल प्रहरी चौकीमा निवेदन दिएकी छन् ।


पाँच फिट उचाइका सुमन गहुँगोरो वर्ण र पातलो जीउडाल रहेको निवेदनमा उल्लेख गरिएको छ । ‘सबै आफन्तको घरमा नभएको जानकारी पाएपछि साउन ३ गते प्रहरीमा निवेदन दिएको छु’, सम्झनाले भनिन् ।

खेती–किसानी गर्दै आएका सुमन हराएको दिन दिउँसो काभ्रेपलाञ्चोकको बनेपाबाट ‘पोखरा जागिर खान जान्छु’ भनेर काठमाडौँको गाडी चढेको र सोही गाडीका सहचालकलाई आफ्नो मोबाइल दिएकोसम्म पत्ता लागेको दाजु भुवनले बताए । उनले पनि भाइ सुमनको खोजीमा सहयोग गरिदिन सरोकारवाला निकायमा अपिल गरे । निरक्षर सुमनकी पत्नी, एक छोरा र एक छोरी छन् ।