काठमाडौं महानगरले साउनभित्र वार्षिक कार्ययोजना तयार गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षका लागि साउन मसान्तभित्र वार्षिक कार्ययोजना तयार पार्ने भएको छ। शहरी योजना आयोगमार्फत चालू आवका लागि नगरसभाबाट स्वीकृत वार्षिक नीति र यसका आधारमा पारित भएको बजेट तथा कार्यक्रमलाई कार्ययोजनाको ढाँचामा विभागलाई पठाइसकेको छ। 

सबै विभागले साउन २१ गतेभित्र वार्षिक कार्ययोजना तयार पारेर फिर्ता पठाउनुपर्नेछ। जसमा मुख्य जिम्मेवारी, सहायक जिम्मेवारी, समयावधि, अनुगमन सूचकसहितका बुँदाका आधारमा निर्माण हुने कार्ययोजनामाथि विभागस्तरीय छलफल गरेपछि साउन मसान्तभित्र प्रमुख प्रशासकीय अधिकृत र विभागीय प्रमुखहरूबीच कार्य सम्पादन सम्झौता हुनेछ। कामपामा हाल १३ वटा विभाग रहेको छ। 

वार्षिक कार्ययोजना चालू आवका लागि मात्र सम्बन्धित हुँदैन। यसले आउँदो वर्षमा तर्जुमा गरिने कार्यक्रमलाई पनि सघाउ पुर्याउँछ। शहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतलेले भने। 

नगरसभाबाट स्वीकृत भएका नीति तथा कार्यक्रम कार्यान्वयनका लागि नगर प्रमुखले सात दिनभित्र प्रमुख प्रशासकीय अधिकृतलाई र प्रमुख प्रशासकीय अधिकृतले १५ दिनभित्र बिभागीय प्रमुखहरूलाई अधिकार प्रत्यायोजन गर्नुपर्ने कानूनी व्यवस्था छ। यसरी प्रत्यायोजित अधिकारको प्रयोग गरेर विभागले कार्यक्रम कार्यान्वयन गर्नुपर्नेछ।