तेस्रो धारमा रहेका नेताहरू अवसरवादी हुन् : झलनाथ खनाल

काठमाडौं । निर्वाचन आयोगमा दर्ता प्रक्रियामा रहेको नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले नेकपा एमालेको ‘तेस्रो धार’मा रहेका नेताहरूलाई अवसरवादीको संज्ञा दिएका छन्। काठमाडौंमा जारी नेकपा (एकीकृत समाजवादी)को बैठकलाई मंगलबार भर्चुअल रूपमा सम्बोधन गरेका वरिष्ठ नेता खनालले उनीहरू लामो समय टिक्न नसक्ने दाबी गरे। नेता खनाल भारतको नयाँ दिल्लीमा उपचाररत छ।

‘मध्यपन्थ भनेको पनि अवसरवादको एउटा रूप हो। त्यसले अन्तिममा दक्षिणपन्थलाई सघाउँछ,’ एमालेको तेस्रो धारका लक्षित गर्दै उनले भने, ‘तर मध्यपन्थको आयु कहिल्यै पनि लामो हुँदैन। यसको आयु छोटो हुन्छ, अल्पायु हुन्छ।’ खनालले दक्षिणपन्थी अवसरवादमाथि दरिलो हमला गर्नुपर्ने बताए। आफूहरूसँग सशक्त वैचारिक क्रान्तिकारी शक्ति निर्माण गर्नसक्ने क्षमता रहेको उल्लेख गर्दै उनले त्यो शक्तिले ठुलो परिवर्तनको महसुस गर्न सकिने बताए। उनले जबजको युग सकिएको पनि बताए।

नयाँ पार्टी निर्माणका लागि विद्रोह गरेको भन्दै खनालले पार्टीलाई अनुशासित, एक ढिक्का र सामूहिक ढंगले अगाडि बढाउनुपर्ने बताए। त्यस्तै उनले नयाँ क्रान्तिकारी पार्टी अघि बढाउन ठूलो चुनौती भए पनि त्यतिकै सम्भावना पनि रहेको बताए। ‘हामीसामु ठूलो चुनौती छ तर तर सम्भावना पनि छ। हाम्रो सफलता सुनिश्चित छ। बाटो सजिलो छैन, काँडा र भीरपाखाहरु छन्। हामी भीर पाखामै हुर्केका हौ,त्यसैले हामी सफल हुन्छौं,’ नेता खनालको भनाइ छ।

उनले आम नेता कार्यकर्ताले केपी ओलीको दमन र दक्षिणपन्थी अवसरवाद नबिर्सेको भन्दै पार्टीको वैचारिक क्रान्तिकारी दिशा महत्त्वपूर्ण हुने र त्यसैले पार्टीको दिशा तय गर्ने बताए। आफू अस्पतालको शय्याबाट बोलिरहेको भन्दै उनले नेपालमा रहेका साथीहरूलाई सबभन्दा पहिला पार्टी दर्ता गर्न सुझाव पनि दिए। ‘पहिला पार्टी दर्ता गरौँ त्यसपछि पार्टीका नीति सिद्धान्त अपडेट गर्नुपर्छ,’ खनालको सुझाव छ।