फेरि पनि कडा निषेधाज्ञाको धम्की दिंदै स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य मापदण्डलाई बेवास्ता गरेमा पुनः कडा निषेधाज्ञा हुनसक्ने बताएको छ।

पछिल्लो समय कोरोना संक्रमण केही घटे पनि संक्रमणदर भने स्थिर भएको भन्दै स्वास्थ्य मन्त्रालयले निषेधाज्ञा खुकुलो पारिएसँगै स्वास्थ्य मापदण्डको बेवास्ता गर्ने क्रम बढेकाले यसले कडा निषेधाज्ञा गर्नुपर्ने अवस्थामा र्पुयाउन सक्ने जनाएको हो।

मंगलबार मन्त्रालयले फेसबुकमार्फत् एक सूचना जारी गरी मापदण्ड बेवास्ता गर्ने र चाडपर्वको बहानामा विभिन्न स्थानमा भिडभाड गर्ने क्रम बढेकाले यसले कडा निषेधाज्ञाको अवस्थामा र्पुयाउने उल्लेख गरेको छ।

त्यस्तो अवस्था आउन नदिने दायित्व आफ्नै भएकाले मास्क लगाउने‚ भौतिक दूरी कायम गर्ने‚ भिडभाड नगर्नेजस्ता जनस्वास्थ्यका मापदण्डको इमानदारीपूर्वक पालना गर्नसमेत मन्त्रालयले आग्रह गरेको छ।