भोलि बिहान ११ बजेसम्मका लागि स्थगित भयो वाईसीएलको दुई दिने सम्मेलन

काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट युवा संगठन वाईसीएलको दुई दिने सम्मेलन आज पनि स्थगित गरिएको छ ।

सहमतिमै नेतृत्व चयन गर्ने प्रयास सफल हुन नसकेपछि शनिबार शुरू भएको सम्मेलन आज पनि टुंगिन सकेन । राष्ट्रिय सम्मेलनका प्रचार विभाग प्रमुख पुष्प ओलीले सम्मेलन भोलि बिहान ११ बजेसम्मका लागि स्थगित भएको जानकारी दिए ।

नेतृत्व सहमतिमा टुंग्याउन अधिकतम कोसिस गर्ने भन्दै हिजोको सम्मेलन पनि स्थगित गरिएको थियो । हालका अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले नेतृत्व छाड्ने भएपछि अध्यक्षका लागि तीनजना दाबेदार छन् ।

अध्यक्षका लागि सुबोध सेर्पाली, सुमन देवकोटा र यशोदा न्यौपानले दावी गरेका छन् । २०७४ साल भदौमै भएको राष्ट्रिय भेलाबाट दीपशिखा अध्यक्ष चयन हुँदा देवकोटा उपाध्यक्ष थिए भने सेर्पाली महासचिव थिए ।

त्यस्तै महासचिवमा चारजना आकांक्षी देखिएका छन् । कसम गुरुङ, गणेश शाही, मिङ्मातन्डु शेर्पा र नवराज ढुंगाना ‘विश्वास’ ले महासचिवमा चाहना राखेका छन् । यसमध्ये शाही र ढुंगाना सचिव थिए भने शेर्पा कोषाध्यक्ष थिए ।