तुइन प्रकरणबारे भारत भन्छ, नेपाल सरकारबाट कुनै औपचारिक जानकारी आएको छैन

काठमाडौं । दार्चुलाको तुइन प्रकरणबारे नेपाल सरकारले कुनै औपचारिक जानकारी नगराएको भारतले बताएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरविन्दम बाग्चीले मिडियाबाट यस विषयमा केही सुने पनि नेपाल सरकारबाट औपचारिक जानकारी नआएको बताएको छ।

विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता अरविन्दम बाग्चीले भने,  ‘मिडियामार्फत सुनेका छौं । तर हामीसंँग कुनै अफिसियल खबर छैन। नेपाल सरकाबाट केही जानकारी आइनसकेकोले यसबारे म केही भन्न सक्दिनँ ।’

बाग्चीले पत्रकार सम्मेलनमा भने, ‘मलाई कसैले केही भनेको छैन, मिडियामा मात्र पढेको छु । भारतभित्र आन्तरिक अनुसन्धान भए/नभएकोबारे पनि सूचना छैन, भारतको राजदूतावासमार्फत केही आउला अनि मात्र हामीले यसबारेमा केही हेर्नेछौं ।’

गत साउन १५ गते भारतीय सशस्त्र सुरक्षा बल (एसएसबी)ले महाकाली नदी तर्ने क्रममा तुइन काटिदिँदा दार्चुलाका जयसिंह धामी बेपत्ता भएका थिए।

गृह मन्त्रालयको छानबिन समितिले सोमबार गृहमन्त्री बालकृष्ण खाँडलाई प्रतिवेदन पेश गर्दै भारतसँग छानबिनका लागि कूटनीतिक पहल गर्न र पीडितलाई क्षतिपूर्ति दिलाउन सिफारिस गरेको थियो।