सत्ता गठबन्धनका नेताका मनमा पस्यो चीसो, सकसमा देउवा

काठमाडौं । मन्त्रिपरिषद्ले पूर्णता नपाउँदै प्रधानमन्त्री शेरवहादुर देउवाले धमाधम नियुक्ति र सरुवा गर्न थालेपछि सत्तारुढ गठबन्धनमा खटपट शुरु भएको छ । अझ यसबीचमा देउवाले आफ्नो दूतका रुपमा कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई प्रमुख विपक्षी नेता केपी ओली भेट्न पठाएपछि प्रचण्ड र माधव नेपाल झस्किएका छन् ।

सत्ता गठबन्धनका मुख्य शीर्ष नेता देउवा, प्रचण्ड र माधव नेपालबीच आज पनि प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ । शुक्रवार पनि शीर्ष नेताहरुको बैठक बसेको थियो ।

मन्त्रालय बाँडफाँटमै समस्या आएकाले नेताहरु छलफलमा छन् । भदौ २२ गतेसम्म प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई दल रोज्ने समय सकिएपछि अध्यादेश निष्क्रिय बनाएर मन्त्रिपरिषद् विस्तार गर्न नेताहरु सहमत छन् ।

यसबीचमा मन्त्रालय भागबण्डा टुंगो लगाउने, बजेटमा सहमति जुटाउने र एमसीसीको सन्दर्भमा समेत सत्ता गठबन्धनको साझा धारणा बनाउने गरि नेताहरुबीच छलफल चलिरहेको कांग्रेस महामन्त्री पूर्णवहादुर खड्काले बताए ।

सत्ता गठबन्धनमा कुनै खटपट नभएको भन्दै उनले संसद संचालन लगायतका विषयमा विपक्षी दलसँग सरकारले कुराकानी गर्नु स्वभाविक रहेको बताए । तर पशुपति विकास कोष, योजना आयोग लगायतका नियुक्तिमा समेत सत्ता गठबन्धनका अन्य नेताले आपत्ति जनाएका छन् ।

नेकपा एसका एक नेताले भने–मन्त्रिपरिषद् विस्तार हुँदा सम्बन्धित मन्त्रीले गर्नुपर्ने काम धमाधम अहिले प्रधानमन्त्रीले आफूले सम्हालेका मन्त्रालयमा मन्त्रिस्तरीय निर्णयबाट गरिरहनु भनेको अब नियुक्त हुने मन्त्री हेरालुमात्र बन्ने स्थिति हो । पर्यटनमन्त्रालय कसको भागमा पर्ने भन्ने थाहा छैन तर ठूला नियुक्ति आर्थिक चलखेलमा हुन थालेपछि त्यहाँ नयाँ मन्त्री गएर गोठालो लाग्ने बाहेक के हुन्छ ?