चल्ने भयो मनकामना केबुलकार

काठमाडाैं । लगातार बन्द रहेको मनकामना केबुलकार भोलिबाट खुल्ने भएको छ । महामारीबाट प्रभावित केबलकार आइतवारबाट सञ्चालनमा आउने भएको हो ।

निषेधाज्ञासँगै गएको वैशाख १६ गतेबाट केबुलकार बन्द भएको थियो ।

मनकामना दर्शन प्रालिका अध्यक्ष राजुबाबु श्रेष्ठका अनुसार स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर केबुलकार सञ्चालन गर्न लागिएको हो । उनले भने, ‘यात्रुले पनि सुरक्षा मापदण्डलाई पालना गर्नु पर्दछ ।’

इच्छाकामना गाउँपालिकाको चेरेसमा स्टेसन रहेको केबुलकार चढेर यात्रु एवं भक्तजन गोर्खाको मनकामना मन्दिर दर्शन गर्न जाने गर्दछन् । भक्तजनको भीडभाड हुने चाडपर्वमा एकैदिनमा ९ हजारभन्दा बढी यात्रुले केबुलकारको यात्रा गर्ने गरेको उनको भनाइ छ ।

मनकामना मन्दिर सञ्चालन गर्ने विषयमा छलफल भइरहेको श्रेष्ठले जानकारी दिए ।