साहित्य परिषद् भुटानद्वारा चार स्रष्टा पुरस्कृत

काठमाडौं । साहित्य परिषद्, भुटानले बिहीबार राजधानीमा कार्यक्रमको आयोजना गरी चार नेपाली स्रष्टालाई पुरस्कृत गरेको छ। नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले एक लाख भारतीय रुपैयाँसहित परिषद् भाषा सेवा पुरस्कार भारत सिक्किमकी स्रष्टा दिलकुमारी भण्डारीलाई, नेपाली एक लाख नगदसहित परिषद् साहित्य सेवा पुरस्कार नेपाली स्रष्टा प्राध्यापक डा. गोविन्दराज भट्टराईलाई, ५० हजारसहित परिषद् साहित्य अनुसन्धान पुरस्कार डा. रामजी तिमिल्सिनालाई र ५० हजारसहित परिषद् युवा साहित्य प्रोत्साहन पुरस्कार प्रकाश आङ्देम्बेलाई प्रदान गरेका थिए।

यस्तै, शिवलाल दाहालको जो स्मृतिम मात्र बाँचिदिएका छन्, यतीराज अजनबीको केही यक्ष प्रश्नहरू, गंगा लामितारेको बदलिएको कर्तव्य, डा. लक्ष्मीनारायण ढकालको डायस्पोरामा भाषा शिक्षण, माया भट्टराईको आमाको काख, खेम रिजालको ऊर्जा, डिल्लीराम शर्मा आचार्यको उच्छेदन, रमेश गौतमको चिताको आगो साँच्चै तातो हुँदोरहेछ लोकार्पण गरिएका थिए। यस्तै प्रतिष्ठानले १ सय ३५ भुटानी कविको कविता संकलन गरी प्रकाशन गरेको ‘पुनर्वासपछिका भुटानी नेपाली कविता’ पनि लोकार्पण गरिएको थियो।

कुलपति उप्रेतीले भुटानका नेपाली साहित्यकार सिर्जनामार्फत सार्थक परिणामको खोजीमा रहेको बताए। उनले भने, ‘बाध्यतावश भुटानबाट निकालिए पनि विश्वका विभिन्न देशमा पुगेर संघर्ष गरी क्षमता बढाएर भाषा, साहित्य र संस्कृतिसमेतको संरक्षण र प्रवद्र्धन गरिरहनु स्वागतयोग्य कदम हो।’ प्रा. भट्टराईले भुटानी नेपालीमा देखिएको भाषा, साहित्य र संस्कृतिप्रतिको चिन्ता र समर्पण प्रशंसायोग्य रहेको बताए। प्रज्ञाका सदस्यसचिव प्रा. जगत उपाध्यायले भने, ‘भुटानी नेपालीसँग नेपालका नेपालीको भुगोल र मुटु भिन्न होला तर चाल र धड्कन एउटै छ।’

प्राज्ञ डा. देवी नेपालले जुनसुकै देशमा रहे पनि प्रतिष्ठानले कार्यक्रम, सम्मान र प्रकाशनबाट भुटानी नेपाली साहित्यकारलाई जोडिरहेको बताए। परिषद्का सचिव खेम रिजालले बाध्यतावश भुटान छोडेर अमेरिका पुगेर पनि हामी भुटानी नेपालीले भाषा, साहित्य र संस्कृतिलाई मलजल गरिरहेको बताए।

उनले भने, ‘कृति प्रकाशनका अलावा थुप्रै विशेष योजनामा अघि बढिरहेका छौं।’ परिषद्का प्रकाशन निर्देशक रमेश गौतमले पुनर्वासका क्रममा पाश्चात्य मुलुकहरू पुगे पनि नेपाल भनेपछि श्रद्धा र प्रेमले अभिभूत हुने गरेको बताए। उनले भने, ‘जुन देश पुगे पनि नेपाली भाषा, संस्कृतिलाई अझ बलियो र विश्वव्यापी बनाइरहेका छौं।’ अन्नपूर्णपोष्टबाट