स्थानीय तह निर्वाचन : आज बिहान ७ बजेबाट मतदान हुँदै

काठमाडौं । आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदाताहरुले आफ्नो मतदाता नामावली रहेको मतदान केन्द्रमा गई मतदान गर्न सक्ने छ । देशभरका ७५३ वटा स्थानीय तहमा उम्मेदवार चयनका मतदानको सबै तयारी पुरा भएको निर्वाचन आयोगले जानकारी दिइएको छ । आज स्थानीय तहको नयाँ नेतृत्व चयन गर्न मतदान हुँदैछ ।

स्थानीय निर्वाचनका लागि आवश्यक सामग्रीसहित १ लाख ९ हजार ८८ कर्मचारी र ६५ हजार ८ सय ६५ जना स्वयंसेवक आ आफ्नो मतदान केन्द्रमा पुगिसकेको निर्वाचन आयोगले जानकारी दिइएको छ ।

स्थानीय तह निर्वाचनमा १० हजार ७ सय ५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रबाट १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले जम्मा ३५ हजार २ सय २१ पदमा प्रतिनिधि छनोट गर्न मतदान गर्दैछन् । निर्वाचनको लागि भौतिक पूर्वाधारसहित सुरक्षाको सम्पूर्ण प्रवन्ध मिलाइ सकिएको आयोगले बताएको छ ।

२०७९ को स्थानीय तह निवाचनमा कुल ३५ हजार २ सय २१ पदमध्ये ३४ हजार ८ सय ८१ पदका लागि १ लाख ४५ हजार ११ जना चुनावी प्रतिस्पर्धामा रहेका छन् । ३ सय ९० पदमा भने निर्विरोध निर्वाचित भइसकेको निर्वाचन आयोगले जानकारी गराएको छ ।