इन्दिरा जोशीले रोजिन् मारवाडी केटा

0

काठमाडौं । गायिका इन्दिरा जोशीले फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी छन् ।

बिहीबारदेखि सुरु भएको माउन्ट एभरेस्ट फेसन रनवेमा भाग लिन उनी खुम्बु पुगेकी थिइन् ।

केडिया मारवाडी घरानाका हुन् ।

उनीहरुले हेलिकप्टरमा खुम्बु पुगेर इन्गेजमेन्ट गरेको भिडियो सार्वजनिक भएको हो ।

क्याप्टेन विवेक थापाले आफ्नो टिकटक अकाउन्टमार्फत् शरदले इन्दिरालाई औंठी लगाउँदै गरेको भिडियो सार्वजनिक गरेका हुन् ।

उनले नयाँ उज्वल भविष्यको कामना भनी शुभकामना पनि व्यक्त गरेका छन् ।

जब ओली र प्रचण्डले एकअर्कालाई विष बमन गर्न थाले

0

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले र सत्ता गठबन्धनमा सहभागी माओवादी केन्द्र आगामी निर्वाचनबारे चिन्तित हुन थालेका छन्। आगामी फागुनमा स्थानीय तह र त्यसपछि हुने संघीय संसद् तथा प्रदेशसभा चुनावलाई लक्षित गर्दै दुवै दलका नेताले कार्यकर्तालाई तयारी थाल्न निर्देशन दिएका छन्। 

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बिहीबार फरकफरक स्थानमा दिएका अभिव्यक्तिले यी दुवै दल निर्वाचनबारे चिन्तित हुन थालेको संकेत गरेको छ।  

दुई/दुईपटक प्रतिनिधिसभा विघटन गरेका एमाले अध्यक्ष ओलीका हरेक अभिव्यक्ति चुनावमय हुने गरेका छन्। उता माओवादी अध्यक्ष दाहालका अभिव्यक्ति पनि चुनाव केन्द्रित भएर आउन थालेका छन्। 

एमाले अध्यक्ष ओलीले देशव्यापी रूपमा संगठन निर्माणका क्रममा आगामी निर्वाचनमा बहुमत ल्याउने दाबीसहित अभिव्यक्ति दिइरहेका बेला बिहीबार माओवादी केन्द्रका अध्यक्ष दाहालले पनि जनवर्गीय संगठन वाइसिएलको कार्यक्रममा निर्वाचन केन्द्रित अभिव्यक्ति दिए।  

बिहीबारको कार्यक्रममा ओलीले सबै विकास निर्माणको स्वरूप आफ्नो सरकार भएका बेला तयार पारेकाले वर्तमान सरकारले स्विचमात्रै थिच्ने काम गरेको दाबी गरे। यस्तो कामले वर्तमान सरकारको कुनै अस्तित्व नहुने उनको जिकिर थियो।

विकास निर्माणदेखि सबै कार्यले गर्दा अन्य दलहरू आफ्नो पार्टीको छेउमा कम्मरमुनि मात्रै आउने दाबीसमेत उनले गरे। ‘यत्तिकै लिरिखिरी पाराले एमालेसँग लड्न सक्दैनौ। मन्त्रिमण्डल बनाउन नसक्नेले एमालेसँग लड्ने धाक किन लगाउनु। एमालेविरुद्ध केके न गरेको भन्छन्।

एमालेलाई खुब नोक्सान पारेको भन्छन्। तर सबै मिल्दा पनि कति छन् रु हाम्रो कम्मर–कम्मरआइपुग्छन्, त्यत्ति न हो’, ओलीले भने। उनले गठबन्धन मिलेर आए पनि एमाले एक्लै निर्वाचनमा जान सक्षम रहेको दाबी गरे।  

उता माओवादी केन्द्रका अध्यक्ष दाहालले पनि अबको निर्वाचन २०६४ को जस्तै बनाउनुपर्ने भन्दै वाइसिएललाई त्यसै अनुसार तयारी गर्न निर्देशन दिए। ‘मतपत्रको बाकस साट्ने, पुलिस कर्मचारी प्रयोग गरेर जित्न खोज्नेलाई लखेट्नुपर्छ। हामीले त्यो बेला कति गरेका थियौं, तपाईंहरूले कति गर्नुभयो २०६४ मा। गर्नुपर्ने पनि गरियो, नगर्नुपर्ने पनि गरियो र पो जितियो।

अब पनि त्यही परिस्थिति निर्माण हुँदैछ नत्र गुन्डाहरूले जे पनि गर्नेछन्’, दाहालले भने। त्यही क्रममा उनले आफूलाई सच्याएर रूपान्तरण हुने जनाए। ‘पहिला म सच्चिनुपर्छ, मेरो रूपान्तरण हुनुपर्छ त्यसकारण म आफैं सच्चिँदै छु’, दाहालले भने। यति बेला ओली र दाहाल एकअर्कालाई गाली गर्न व्यस्त देखिएका छन्।  ओलीले दाहालका विरुद्ध विष बमन गर्ने र दाहालले ओलीका विरुद्ध विष बमन गर्ने क्रम बढिरहेको छ। यो समाचार नागरिक दैनिकमा छ ।

२७ बुँदे स्वास्थ्य मापदण्ड पालना गरी विद्यालय खोल्न पाइने

0

काठमाडौं। महानगरभित्र विद्यालय सञ्चालन गर्न चाहनेले २७ बुँदे स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने भएको छ ।

महानगरपालिकाले बिहीबार जानकारी गराए अनुसार स्वास्थ्य मापदण्ड पूरा गरेका विद्यालय असोज १० गतेदेखि सञ्चालन हुन सक्नेछन् । महानगरका शिक्षा समिति प्रमुख एवं कामपा मेयर विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकले विद्यालय सञ्चालन गर्दा न्यूनतम रूपमा पालना गर्नुपर्ने २७ बुँदे मापदण्डसहित विद्यालय सञ्चालनको निर्णय गरेको हो ।

निर्णयमा भनिएको छ– ‘कोभिड महामारीको अहिलेको अवस्थामा बालबालिकाको भविष्य र स्वास्थ्य सबैको चिन्ताको विषय हो । यसमा कोही पक्ष वा विपक्ष हुनुभन्दा सबैले विवेकपूर्ण व्यवहार गर्नुपर्छ ।’ बैठकका अध्यक्ष शाक्यले भने– ‘सरकारले गरेका निर्णय विद्यालयहरूले पूर्ण पालना गर्नुपर्छ ।’

उनले महानगरले तयार गरेको मापदण्ड सबै विद्यालयले पालना गर्नुपर्ने बताएका छन् । महानगर क्षेत्रका अधिकांंश विद्यालय खुला भइसकेपछि महानगरको बैठकले मापदण्ड पालना गरी विद्यालय खुला गर्ने निर्णय गर्नु अमिल्दो भएको विद्यालय सञ्चालकहरुको भनाइ छ ।

कामपाले विद्यालय सञ्चालन गर्न बालबालिकाको सम्पर्कमा हुने शिक्षक, कर्मचारी, चालक, सह चालकसँगै विद्यालयको सरसफाइ र सुरक्षामा खटिने सबैले कोभिड–१९ विरुद्धको खोप अनिवार्य लगाएको हुनुपर्ने उल्लेख गरेको छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

ईपीएल खेल्न शाहिद अफ्रिदी नेपालमा

0

काठमाडौं । विश्वचर्चित पाकिस्तान क्रिकेटर शाहिद अफ्रिदी एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्न बिहीबार नेपाल आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिक्रिया दिँदै उनले घर जस्तै महसुस भएको बताए । उनले ईपीएलमा सुरुआती दुई खेल मात्र खेल्ने पनि जानकारी दिए ।

अफ्रिदी ईपीएलमा सन्दिप लामिछानेको कप्तानीमा रहेको काठमाडौँ किंग्स—११ बाट खेल्नेछन् । किंग्सले लिगको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन ललितपुर पेट्रिएट्ससँग प्रतिस्पर्धा गर्दैछ । खेल शनिबार हुनेछ ।

नेपाली घरेलु क्रिकेट खेल्ने अफ्रिदी अहिलेसम्मकै सबैभन्दा ठूलो नाम हुन्। लिगमा यस अघिको संस्करणहरुमा श्रीलंकाका फर्भेज महरुफ, दक्षिण अफ्रीकाका रिचर्ड लेभी तथा टेस्ट राष्ट्र आयरल्याण्डका केभिन ओ ब्रायन, पल स्टरलिंग जस्ता खेलाडीहरु खेलेका थिए।

यो सिजन पनि बंगलादेशका तामिम इक्बाल, श्रीलंकाका उपुल थारांगा, जिम्बाब्वेका सिकन्दर राजा, रायन बर्ल, अफगानिस्तानका मोहम्मद शाहजाद, दक्षिण अफ्रीकाका रिचर्ड लेभी, वेस्टइन्डिजका केसरिक विलियम्स, चन्द्रपौल हेमराज जस्ता खेलाडीहरु ईपीएल खेल्दैछन्।

म्याद गुज्रेका खाद्य सामग्री र औषधि बिक्री गरे कारबाही : गृहमन्त्री खाण

0

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले चाडपर्वका बेला म्याद गुज्रेका खाद्यसामग्री र औषधि बिक्री वितरण गरेको पाइएमा कानुन अनुरुप अगाडि बढ्न बाध्य हुने बताएका छन् । बिहीबार गृह मन्त्रालयमा बसेको चाडपर्व लक्षित बजार अनुगमनसम्बन्धी बैठकमा मन्त्री खाणले नागरिकको जीवन रक्षा र हितमा लाग्नु सरकारको दायित्व भएको भन्दै त्यो दायित्व पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।

उनले भने, ‘नागरिकको जीवन रक्षा र हितका लागि काम गर्नु राज्यको पहिलो दायित्व हो, त्यो दायित्व पूरा गर्न हामी प्रतिबद्ध छौं । म्याद गुज्रेका औषधि र खाद्य सामाग्री विक्रि वितरण गरेको पाइएमा हामी कानुन अनुरुप अगाडि बढ्नुपर्छ । त्यस विषयमा यहाँहरूले ध्यान दिनुहोला ।’

आपूर्ति व्यवस्थापन, बजार अनुगमन र व्यवस्थापन तथा यातायात व्यवस्थापन एजेण्डा राखेर बोलाइएको बैठकमा उपभोक्ता अधिकारकर्मी, यातायात व्यवसायी, उद्योगी व्यवसायी र सरकारी निकायका र सुरक्षा निकायका उच्च अधिकारीको सहभागिता रहेको बैठकमा मन्त्री खाणले म्याद गुज्रेका सामाग्री बेच्दा घुमीफिरी आफ्नै भान्सामा आइपुग्नेतर्फ पनि ध्यान दिन आग्रह गरे ।

उनले चाडपर्वमा अन्य बेलामा भन्दा कम नाफा लिएर धेरै वस्तु सुपथ मूल्यमा बेच्न पनि व्यवसायीलाई आग्रह गर्दै भने, ‘अन्य बेलामा जस्तै धेरै नाफा नलिई कम नाफा लिएर सुपथ मूल्यमा बेचेर उपभोक्तालाई राहत दिनुस् भन्ने मेरो आग्रह छ । बढी मूल्यमा बेचेको अनुगमनका क्रममा पाइएमा सरकारी निकाय कानुन अनुरुप अगाडि बढ्न पर्छ ।’

व्यवसायी, सरकार र उपभोक्ता मिलेर अगाडि बढेमा मात्र चाडपर्व रमाइलो गरी मनाएर बिदा गर्न सकिने उनको भनाइ थियो । मन्त्री खाणले उद्योगी, व्यवसायीलाई कोभिड–१९ विरुद्धको खोपमा प्राथमिकता दिन र यातायात व्यवसायीको मागमा सरकार सकारात्मक रहेको बताए । उनले सवारी दुर्घटना न्यूनिकरणमा गम्भीर बन्न पनि व्यवसायीलाई आग्रह गरेका छन् । उनले बर्षातका समयमा बिग्रिएका मुलुकका विभिन्न स्थानका सडक दशैं अगाडि मर्मत गर्न प्रधानमन्त्रीसँग कुरा राखेर पहल गर्ने बताए । जनताको सुरक्षाका लागि सरकारले आफ्नो दायित्व कुनै पनि अवस्थामा पूरा गर्न प्रतिबद्ध रहेको उनको भनाई थियो ।

गृहसचिव टेकनारायण पाण्डेले चाडपर्वमा बजार व्यवस्थापनमा त्रिपक्षीय सम्बन्ध जरुरी रहेको बताए । उनले बजार प्रणालीबाट जनस्वास्थ्यमा खेलवाड गर्न नपाइने भन्दै खेलवाड गर्न नदिन गृहमन्त्रालय प्रतिबद्ध रहेको पनि बताए । उनले भने, ‘बजार प्रणालीबाट जनस्वास्थ्यमाथी खेलबाड हुन नदिन गृहमन्त्रालय प्रतिबद्ध छ । खेलवाड भए नभएकोबारे बजार अनुगमन हुन्छ ।’ उनले अनुगमनमा मूल्यसूचीजस्तै स्वास्थ्य मापदण्ड पनि हेरिने बताए ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले चाडपर्वका बेला म्याद सकिएका खाद्य सामाग्री विक्रि वितरण गरेको पाइएमा शक्त कारबाही गर्न मातहतका निकायलाई निर्देशन दिएको जानकारी गराएका छन् । उनले भने, ‘हामीले वाणिज्य र गुणस्तर विभागलाई स्पष्ट रूपमा भनेका छौं, चाडपर्वको मौका छोपी नबिकेर म्याद गुज्रिएका सामाग्री निरक्षर उपभोक्ता भएका स्थानसम्म पुर्याएर विक्री हुनसक्छ । त्यस्तो पाइएमा सक्त कारबाही गर्नू,।’ नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) शैलेश थापाले मुख्य चाडपर्वलाई लक्षित गर्दै प्रहरीले विषेश सुरक्षा योजना बनाएको बताए ।

बैठकमा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराई र यातायात व्यवस्था विभागका प्रवक्तासमेत रहेका निर्देशक डा‍‌ लोकनाथ भुसालले दशैंमा सार्वजनिक सवारी साधन कसरी सञ्चालन गर्ने भनेर अहिलेसम्म भएका तयारीबारे जानकारी गराएका थिए । प्रवक्ता भुसालले आगामी ११ गतेबाट दशैंलाई अग्रिम टिकट विक्रि खुला गर्ने र १४ स्थानमा यात्रु सहायता कक्ष राख्ने निर्णय भएको जानकारी गराए । त्यस्तै बसको टिकट अनलाइनमा काट्ने बनाउन प्रयास भइरहेको उनको भनाई थियो । बैठकमा उपभोक्ताकर्मी, यातायात  व्यवसायी, उद्योगीले आ–आफ्ना धारणा राखेका थिए ।

सञ्चारमाध्यमहरू खोजमूलक, सत्य तथ्यमा आधारित र स्वतन्त्र रहनुपर्छ : प्रधानमन्त्री देउवा

0

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले वैशाखसम्म सबैलाई कोरोनाविरुद्धको भ्याक्सिन लगाइसक्ने सरकारको योजना रहेको बताएका छन् । बिहीबार हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण समारोहमा बोल्दै देउवाले कोरोना महामारीको खतरनाक रूप नेपालमा आएको तर यसबारे अझै कतिपय मानिसलाई जानकारी नभएकोमा दुःख व्यक्त गरेका हुन् । 

देउवाले भने, ‘मैले भ्याक्सिन भ्याक्सिन भनेको थिएँ, नेपालभर नै छिटै नै भ्याक्सिनको व्यवस्था पूरा हुँदैछ, मलाई लाग्छ वैशाखसम्म सबैलाई भ्याक्सिन लगाइसकिने हाम्रो योजना छ । अहिले कोभिडको पनि खतरनाक रूप नेपालमा आएको छ, धेरै मान्छेहरू मरेका छन्, कतिपयलाई कति खतरनाक छ भन्ने कुरो ज्ञान पनि छैन, यसलाई कम गर्नको लागि हामी अवश्य नै काम गर्नेछौँ ।’

प्रधानमन्त्री देउवाले नेपालको पत्रकारिता जगतलाई सुरक्षित गर्दै थप विकसित, व्यावसायिक र समृद्ध बनाउने कार्यमा लाग्न सरकार तयार रहेको बताए । उनले नेपालमा प्रेस स्वतन्त्रता रहेको भन्दै सम्पूर्ण सञ्चारमाध्यमहरू खोजमूलक र सत्य तथ्यमा आधारित भएर स्वतन्त्र रहनुपर्ने सरकारको चाहना रहेको बताए । प्रधानमन्त्री देउवाले नेपालको संविधानले प्रत्याभूत गरेको प्रेस स्वतन्त्रता विचार स्वतन्त्रतालाई संरक्षण गर्दै नेपालको पत्रकारिता जगतलाई थप विकसित, व्यावसायिक र समृद्ध बनाउँदै लैजाने कार्यमा सरकार आवश्यक सहयोग गर्न तत्पर रहेको समेत बताए ।

उनले  नेपाल टेलिभिजन सरकारको टेलिभिजन भएकोले विभिन्न सांस्कृतिक,ऐतिहासिक कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भन्दै उमेर समूहलाई ध्यानमा राखेर कार्यक्रम ल्याउनुपर्ने बताए । 

झाँक्री बनिन् समाजवादीकी सचिव

0

काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले केन्द्रीय पदाधिकारी चयन गरेको छ । बिहीबार बसेको केन्द्रीय समिति बैठकले नेताहरुको कार्यविभाजन गरेको हो । समाजवादीको पदाधिकारीहरुमा माधवकुमार नेपाल अध्यक्ष र झलनाथ खनाल वरिष्ठ नेता छन् । मुकुन्द न्यौपाने भने नेपाल र खनालपछि तेस्रो वरियतामा रहेका छन् ।

त्यसैगरी सात जना उपाध्यक्षमा क्रमशः राजेन्द्र पाण्डे, प्रमेश हमाल, घनेन्द्र बस्नेत, केदार न्यौपाने, केशवलाल श्रेष्ठ, धर्मनाथ प्रसाद साह र जयन्ती राई रहेका छन् ।   महासचिवमा डा.बेदुराम भुसाल छन् भने तीन उपमहासचिवमा प्रकाश ज्वाला, डा. गंगालाल तुलाधर, डा. विजय पौडेल छन् । त्यसैगरी चार जनाले सचिवको जिम्मेवारी पाएका छन् । जसमा नागेन्द्रप्रसाद चौधरी, जगन्नाथ खतिवडा, राजेन्द्रकुमार राई र रामकुमारी झाँक्री छन् ।

पूर्ण र वैकल्पिक गरी ३०१ सदस्यीय केन्द्रीय कमिटी गठन गरिएको छ भने ३५ सदस्यीय स्थायी कमिटी सो पार्टीले बनाएको छ । त्यस्तै ७१ सदस्यीय पोलिटब्युरो गठन गरेको सो पार्टीले जनाएको छ ।

पार्टी स्वार्थी समूहको ‘फेडरेशन’ जस्तो भएको छ : ईश्वर पोखरेल

0

काठमाडाैं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीभित्र गुटबन्दी विष छरिएजस्तो छरिएको बताएका छन् । नेकपा एमालेको उपत्यका विशेष प्रदेश कमिटीद्वारा आयोजित बृहत् भेलालाई बिहीबार राजधानीमा सम्बोधन गर्दै उनले नेकपा एमालेमा तत्कालीन नेता माधवकुमार नेपालले लामो समय एउटा गुटको नेतृत्व गरेको आरोप लगाए ।

माधवकुमार नेपाल नेतृत्वमा केहीले एमाले छाडेर गए पनि पार्टीभित्र गुटबन्दीको असर कायम रहेको उनको भनाइ थियो । उनले अब पार्टीभित्र विधि, पद्धतिअनुसार जिम्मेवारी दिने र पार्टी कमिटीहरु छरितो बनाउने बताए । आगामी महाधिवेशनपछि पार्टीभित्र एक व्यक्ति एक पदको अवधारणा कडाइका साथ लागू हुने पोखरेलले बताए । अहिले पार्टी कुनै स्वार्थी समूहको ‘फेडरेशन’ जस्तो रहेको भन्दै अब त्यसलाई सच्याएर अघि बढ्ने प्रस्ट पारे ।

विगतमा राम्रो उद्देश्यले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता भएपनि कतिपय कुरामा ध्यान दिन नसक्दा एकता टिक्न नसकेको उनले बताए । पार्टीले पटक–पटक फुट र जुटको अनुभव सँगालिसकेको भन्दै अब पुराना गल्तीबाट सिकेर अघि बढ्ने र त्यस्ता गल्ती नदोहोरिने उनले प्रस्ट पारे ।

राष्ट्रिय राजनीति अहिले दुई ध्रुवमा विभाजित रहेको भन्दै उनले एउटा ध्रुवको नेतृत्व एमालेले र अर्को ध्रुवको नेतृत्व तमाम राजनीतिक शक्तिको गठबन्धन रहेको बताए । यो अवस्थामा देश र जनताको हितमा एमालेले नेतृत्वको गठबन्धन नै छ भन्ने कुरा आम जनतालाई बुझाउन जरुरी रहेको उनको भनाइ छ ।

‘देउवाजी हामीले बनाइदिएको नयाँ घरमा रिबन काटेर, बत्ती बालेर सर्दै हुनुहुन्छ’

0

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूले बनाएको घरमा प्रधानमन्त्री शेरबहादुर देउवा सर्न लागेको भन्दै व्यङ्ग्य गरेका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो कटाक्ष गरेका हुन् ।

“यत्तिकै हामी सरकारबाट हट्नु परेका हैन नि । हामीले गरेको अपराध एउटा मात्र हो र ? कहिले चीनतिरबाट बाटो बनाएको छ । कहिले भारतसँग नाकाबन्दीको सामना गरेको छ । यता हेर्यो बाटै–बाटो, उता हेर्यो पुलै–पुल ।”

उनले भने “हेर त दुई वर्ष नपुग्दै धरहरा जुरुक्क उठेको छ । इतिहासमै नभएको आफ्नो संसद् भवन बन्दैछ । अब सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाजी हामीले बनाइदिएको नयाँ घरमा सर्दै हुनुहुन्छ दुई–चार दिनमा । मलाई खुसी लाग्छ उहाँले रिबन काट्नुहुनेछ । बत्ति बालेर उद्घाटन गर्नुहुनेछ ।” 

लाज, सरम र घिन नमानी गच्छदारले आफ्नो राजनीति सक्न षड्यन्त्र भएको बताउँदा कार्यकर्ताले ताली बजाए

0

विराटनगर । लामो समय जेलमा बसेर फर्किएका विजय कुमार गच्छदारलाई गृहजिल्लामा उनका कार्यकर्ताले फूलमालाले भव्य स्वागत गरेका छन् ।

नेपालमा भ्रष्टाचार मुद्दामा जेल बसेको वा मान्छे मार्ने उद्योगमा जेल बसेका नेताहरूलाई कार्यकर्ताले निर्लज्ज भएर यसो गरिरहेका उदाहरणहरू छन् ।

अदालतले नै दोषी पाएको नेताको मुहारमा कार्यकर्ताले यसो गर्दा चमक छाउने गरेको छ । उनीहरूको त्यो चमकले अदालतलाई र न्यायलाई गिज्याइरहेको भान हुन्छ ।

यस्तै भयो गच्छदारको केसमा पनि । आज अपरान्ह विराटनगर विमानस्थल ओर्लिएका गच्छदारलाई स्वागत गर्न कार्यकर्ताको ठूलो घुइँचो लागेको थियो । मोटरसाइकल र गाडीमा पार्टी झन्डासहित विमानस्थल आएका कार्यकर्ताले गच्छदारको पक्षमा नारा लगाउँदै स्वागत गरे ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्नुअघि गच्छदारले डेढ वर्षसम्म मौनतामा थिए । राजनीतिक कार्यक्रममा सहभागी हुन निकै लामो समयपछि सुनसरी आएका गच्छदारले त्यहाँ कार्यकर्ता भेटघाटसँगै पार्टीका कार्यक्रममा सहभागी हुने बताइएको छ ।

विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै गच्छदारले आफ्नो राजनीति सक्न षड्यन्त्र भएको तर यसलाई आफूले सामना गरेको सुनाए । यसो भन्दा उनका कार्यकर्ता लाज सरम नमानी ताली पिटिरहेका थिए ।

गच्छदार ९ गते काठमाडौं फर्कने छन् । ११ गते फेरि सुनसरी आउने छन् । संसदीय व्यवस्था नै संकटमा परेको बताउँदै उनले तत्कालीन राज्यले नै आफूविरुद्ध षड्यन्त्र गरेको बताए । “संसदीय व्यवस्थामाथि कसैले षड्यन्त्र नगरोस् । धेरै कुरा देखियो आन्दोलनका अब यस्तो नहोस्,” उनले भने ।

५१ वर्षदेखि राजनीतिमा लागेको र जेल बसेर राजनीतिक यात्रा शुरु गरेको भन्दै उनले १९ वर्षपछि आफू आफ्नो कर्मक्षेत्रमा फर्किएर आएको सुनाए । विराटनगरको भूमिबाट आफूले राजनीतिक यात्रा सुरु गरेको र यहीँ ठाउँबाट आफू जनताको सेवामा लागेको गच्छदारले सुनाए ।  यस्तो सुनाउँदा उनका कार्यकर्ताले भगवान् बोलिरहेको अनुभव गरे । लाज सरम घिन केही बाँकी थिएन त्यहाँ ।