रवीन्द्रकी श्रीमती विद्या कास्की २ मा नेकपाबाट उम्मेदवार

0
642

पोखरा, कार्तिक ।  आउँदो मंसिर १४ गते कास्की २ मा हुने प्रतिनिधि सभाको उपनिर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी नेकपामा विद्या भट्टराईलाई उम्मेदवार बनाउन सिफारिस गरेको छ। 

तत्कालीन मन्त्री रवीन्द्र अधिकारीको निधनपछि रिक्त ठाउँमा उनकै जीवनसाथी विद्यालाई उम्मेदवार बनाउन जिल्ला कमिटीले पार्टी केन्द्रलाई सिफारिस गरेको हो।

नेकपा कास्कीको शुक्रबार बसेको बैठकले भट्टराईको मात्रै नाम सिफारिस गरेको हो। पार्टी जिल्ला कमिटीले विद्याको नाम सर्वसम्मत अनुमोदन गरेको जिल्ला इन्चार्ज राजकाजी गुरुङ करणले अन्नपूर्णलाई बताए। 

‘थुप्रैको नाममाथि छलफल भयो, तर सबै हिसाबले विद्या कमरेडलाई उम्मेदवार बनाऊँ भनेर सर्वसम्मत निर्णय गर्‍यौं’, उनले भने। 

मन्त्री अधिकारीको २०७५ फागुन १५ गते ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा निधन भएको थियो। नेकपाबाट पहिला वामदेव गौतमको नाम चर्चामा रहे पनि उनले आफू उम्मेदवार नहुने घोषणा गरेका थिए। 

त्यसपछि अरु थुप्रै आकांक्षी देखिएका थिए। तर क्षेत्रीय निर्वाचन कमिटी बननसकेको हुँदा जिल्लाले नै रवीन्द्रकी श्रीमती विद्यालाई नै उम्मेदवार बनाउने निधो गरी केन्द्रलाई सिफारिस गरेको हो। 

यसअघि बुधबार मात्रै साझा पार्टीले रजनी केसीलाई उम्मेदवार बनाउने निर्णय सार्वजनिक गरेको थियो। नेपाली कांग्रेस कास्कीले भने १६ जनाको नाम केन्द्रमा सिफारिस गरेको छ। त्यसमा पहिला रवीन्द्रसँग प्रतिस्पर्धा गरेका देवराज चालिसेको नाम पनि छ। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here