कोरोनाको कहरमा सूर्योदयका बालबालिकाको प्रशंशनीय कार्य

सन् २०१९ डिसेम्बर ३१ अर्थात् २०७६ पौष १५ गतेका दिन चीनको हुवेइ प्रान्तको वुहान सहरबाट नोभेल कोरोना भाइरसको ‘आउटब्रेक’भएको थियो र हाल यसले विश्व महाव्याधिको रुप लिएको छ । नेपाल पनि यस जनस्वास्थ्य संकटबाट अछूतो रहन सकेन । हालसम्म नेपालमा यस महामारीबाट २६३४ जना संक्रमित भएका छन् भने १० जनाको मृत्यु भइसकेको अवस्था छ (९२२ जेष्ठ २०७७, साँझ ७:१५ बजेसम्म) ।

यस कोरोना महामारीले सम्पूर्ण नेपाली नागरिकहरूलाई असर पारेको त छ नै, यस्तो संकटको बेलामा विशेष गरेर बालबालिका, जेष्ठ नागरिकहरु, गरिब तथा विपन्न वर्गका मानिसहरू, मजदुरी गरेर खानपर्नेहरु बढी जोखिममा पर्ने विभिन्न तथ्याङ्कले देखाएको छ ।

यस विश्व महाव्याधिको रोकथाम तथा नियन्त्रणका निम्ति नेपाल सरकारले २०७७ साल चैत्र ११ गतेदेखी (२४ मार्च २०२०) नियमित बन्दाबन्दीको अवधारणा ल्याएको थियो र हालसम्म यो लागु भइरहेको अवस्था छ । यदि कोरोना भाईरस संक्रमित व्यक्तिको संसर्गमा आएमा अन्य व्यक्तिमा पनि भाईरस सर्ने भएकोले राज्यले नागरिकहरुलाई अत्यन्तै आवश्यक पर्दाबाहेक आफ्नै घरभित्र रहन अपिल गरेको छ । यसरी मुलुकका नागरिकहरु राज्यले आव्हान गरेको बन्दाबन्दीका कारण घरभित्रै बसिरहेका छन् ।

नागरिकहरुलाई कोरोना समस्याबाट बचाउनका लागि सेवामा खटिनु भएका स्वास्थ्यकर्मीहरु, सुरक्षाकर्मी, सरसफाइकर्मी, स्वयंसेवक, पत्रकारहरुलगायत थुप्रै मानिसहरू, जसले यो विश्व महाव्याधिलाई नियन्त्रण गर्न सक्रिय भूमिका निभाई रहनुभएको छ, उहाँहरुलाई प्रोत्साहन स्वरुप मनोबल बढाउन सामाजिक सञ्जालमा विभिन्न सम्मानजनक गतिविधिहरु भइरहेको देखिन्छ ।

कोरोना भाईरसको समस्या सुरु भएयता धेरै मानिसहरूको रोजीरोटी गुमेको अवस्था छ । थुप्रै मानिसहरु रोजगारविहीन भएका छन, विभिन्न कार्यालयहरू बन्द छन, सरकारी सेवा ठप्प छ र सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द छन् । विद्यालयहरु बन्द भएको कारण यहाँ हजारौँको सङ्ख्यामा रहेका बालबालिका सिक्ने– अवसरबाट वञ्चित छन् । नयाँ शैक्षिक सत्र अगाडि नबढेको र बालबालिकामा विभिन्न खालका मनोसामाजिक समस्याहरू देखिन थालेका छन् ।
राष्ट्रिय बाल अधिकार परिषद् (२०७६) को अनुसार नेपालका ५३३ बालगृहहरुमा करिव १५,०४५ बालबालिका आश्रित छन् । सामान्यतया टुहुरा बालबालिका, बाबु आमाले छोडेका, विभिन्न जोखिमपूर्ण अवस्थाबाट उद्दार गरिएका, उच्च जोखिममा रहेका, आर्थिक हिसाबले कमजोर परिवारका बालबालिका यस्तो संस्थामा बसेर जीवनयापन गरिरहेको विभिन्न प्रतिवेदनहरुले देखाएको छ ।

राजधानीबाट उत्तरतर्फ रिंगरोडबाट झण्डै १६ किलोमीटर टाढा, नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिकास्थित सूर्योदय बालगृह रहेको छ । सनराइज चिल्ड्रेन एसोसिएसन इंक अष्ट्रेलिया नामक अन्तरराष्ट्रिय गैरसरकारी संस्थाले सन् २००५ देखि यस बालगृह सञ्चालनका लागि बालगृहसँग नियमित रुपमा साझेदारी गर्दै आइरहेको छ । विशेषतः ‘हरेक बालबालिकाले आ–आफ्नो घरमा नै बस्न पाउनुपर्छ’ भन्ने मूल मान्यताकासाथ यस संस्थाले जोखिममा परेका बालबालिकालाई छात्रवृत्तिको विशेष व्यवस्था गरेकोले यस बालगृहमार्फत् झण्डै १००० भन्दा बढी बालबालिका तथा युवाहरु लाभान्वित भएका छन् ।

हाल आवासीय बालगृहमा १२ जना बालबालिका रहेका छन, जसमध्ये ९ जना बालक र ३ जना बालिका छन् । उक्त बालगृहका बालबालिकालाई २४ घण्टा नै सेवा सुविधा पुर्याउनका निम्ति ३ जना पूर्णकालिन कर्मचारीहरु छन् । करिब १२ रोपनी जग्गामा फैलिएर रहेको यस बालगृहको आफ्नै भवन र करेसाबारी छ भने बालबालिको पोषणका लागि गाईपालन पनि गरिएको छ । साथै, बालबालिकाको शारीरिक स्वास्थ्यलाई ध्यानमा राखी उनीहरु खेल्नका लागि ठूलो चउरको व्यवस्था गरेको छ ।

तर, कोरोनाको संकट सुरु भएयता स्थिति बदलिएको छ । कोरोनाबाट बच्न बन्दाबन्दीको अवस्था सुरु भएपछि यस बालगृहका बालबालिकाको दैनिकीमा ठूलो भिन्नता आएको छ । यस विश्वव्याधिको संकटका समयमा पनि सूर्योदय बालगृहका बालबालिका भने आफूलाई व्यस्त तथा स्वस्थ्य राख्न अद्यापि सफल भएका छन् । आफूलाई मनपर्ने किताबहरू अध्ययन गर्नुका साथै उनीहरू रचनात्मक कार्यहरूमा पनि सङ्लग्न रहँदै आएका छन् ।

बिहान ६ बजे उठ्ने उनिहरूको दैनिकी अझै चलिरहेको छ । त्यसपछि बिहानीको प्रार्थना, ध्यान तथा शारीरिक व्यायाम गर्ने बानीले गर्दा बालबालिकाको दैनिकीलाई रमाइलो र उर्जापूर्ण बनाएको छ । घरमै पालिएका गाईको दूध खाएपछि उनीहरु पढ्न बस्छन् । ९ बजेसम्म अध्ययन गरेपछि उनीहरु बिहानको खाना खान्छन् र सरसफाइ गरेर घरको अगाडि रहेको चउरमा घामको न्यानो स्पर्श लिएर केही समय गफगाफ गर्ने गरेको देखिन्छ । यसरी बालगृहका बालबालिका बन्दाबन्दीको समयलाई प्रभावकारी रुपमा उपयोग गरिरहेको कुरा बालगृहकी इन्चार्ज अंगूर भण्डारी बताउनु हुन्छ । बालगृहको स्थापना कालदेखि यस संस्थामा आबद्ध रहेकी भण्डारीलाई बालबालिकासँग कसरी व्यवहार गर्नुपर्छ, उनीहरूको विकासका निम्ति कस्तो कदम चाल्नुपर्छ भन्ने कुरामा पूर्ण जानकारी हुनुहुन्छ ।

हाल उक्त गृहका अलि ठूला बालबालिका गाईलाई घाँस काटेर दिने, गाईगोठ सफा गर्ने, करेसाबारी गोडमेल गर्ने, मकै रोप्ने, अनि कहिलेकाहिँ खाना बनाउने जस्ता जीवन उपयोगी सीपहरु सिक्ने कार्यमा व्यस्त रहेको कुरा कक्षा ८ मा अध्यनरत बालगृहका एकजना विद्यार्थी बताउँछन् ।
दिउँसोको समयमा उनीहरु पुनः पढ्ने कामलाई निरन्तरता दिन्छन् । खाजा खाइसकेपछि कहिलेकाहिँ उनीहरु नजिकैको वनमा पाइने ऐशेलु, काफल टिप्ने जाने गर्दछन् । त्यसैगरी विभिन्न अनलाइनमार्फत् आयोजना गरिएको चित्र बनाउने प्रतियोगितामा समेत यहाँका बालबालिकाहरूले भाग लिने गरेका छन् । आफूले आफूलाई विभिन्न विषयमा सूचित राख्नका हेतु उनीहरु नियमित समाचार हेर्ने गर्दछन् । मनोरञ्जनका निम्ति कार्टून हेर्छन् भने कहिलेकाहीँ चलचित्र पनि हेर्छन् । साँझपख उनीहरु सबै साथीभाइ मिलेर घरको अगाडिको आँगनमा खेल्छन् । बेलुकाको खाना ६ बजे खाएर केहीबेरको भलाकुसारी गरेपछि उनीहरु सुत्छन् ।

बालगृहको व्यवस्थापन राम्रो रहेकाले यहाँका बालबालिकाले उनीहरुले पाउनु पर्ने सबै अधिकार पाएको अवस्था छ । उनीहरूको विकासका निम्ति जीवनउपयोगी सीपहरु सिक्न पाउने व्यवस्था गरिएको छ । उनीहरु आफ्नै करेसाबारीमा उत्पादित अर्गानिक तरकारी खान्छन् भने करिब तिन महिनासम्म पुग्ने राशन(पानीको व्यवस्था रहेकाले यहाँ खासै समस्या नरहेको कुरा संस्थाका इन्चार्ज बताउनु हुन्छ । विद्यालय कहिलेबाट खुल्छ होला भन्नेबारे यहाँका बालबालिका चिन्तित छन् । यसले उनीहरुको पढाईप्रतिको लगाव झल्काउँछ । उनीहरूलाई आफ्नो पढाइको अनी आफ्नो भविष्यको चिन्ता छ ।

यसरी एक बालगृहको प्रशंसनिय योगदानले गर्दा आज सयौंको संख्याका बालबालिकाले गुणस्तरीय शिक्षा हासिल गर्न पाएको छन् । कोरोना भाइरसको प्रकोपमा पनि यी बालबालिकाको अनुहारमा हाँसो ल्याउनु, उनीहरूलाई यो विश्वव्याधिबाट मुक्त राख्न सक्नु, उनीहरूको सुरक्षाका निम्ति हरेक कुराको ध्यान राख्नु र बालबालिकाको भविष्य नबिग्रियोस् भनी बन्दाबन्दीको अवस्थामा पनि विभिन्न वैकल्पिक तरिकाले बालबालिकाको सिकाई प्रक्रियालाई निरन्तरता दिन सक्नुलाई सुर्योदय बालगृहको उपलब्धी मान्नु पर्छ भन्ने कुरामा दुईमत हुन सक्दैन । यस्तो प्रशंसनिय कार्यको लागि यस बालगृहलाई धन्यवाद दिनै पर्दछ ।(लेखक नेपाल स्वास्थ्य विज्ञान अध्ययन संस्थान (स्तुपा कलेज), जोरपाटीमा जनस्वास्थ्य विषयमा अध्ययनरत विद्यार्थी हुन् । )

+ posts

सम्वन्धित समाचार

गरिब मुलुकहरू भ्याक्सिनको चपेटामा

एजेन्सी । गरिब मुलुकहरू भ्याक्सिनको चपेटामा पर्न थालेको समाचारहरू निस्किएसँगै गरीब राष्ट्रहरुमा कोरोना विरुद्धको खोपको चरम अभाव देखिएको विश्व स्वास्थ्य संगठन...

जोखिम ज्यादा तयारी न्यून

काठमाडौं । यो वर्ष मनसुनको सुरुवातमै सिन्धुपाल्चोकमा बाढीले ठूलो क्षति पारेपछि अन्य ठाउँमा पनि ठूलो क्षति हुनसक्ने आँकलन गरिएको छ। असारको सुरुवातमै...

ताजा समाचार

गरिब मुलुकहरू भ्याक्सिनको चपेटामा

एजेन्सी । गरिब मुलुकहरू भ्याक्सिनको चपेटामा पर्न थालेको समाचारहरू निस्किएसँगै गरीब राष्ट्रहरुमा कोरोना विरुद्धको खोपको चरम अभाव देखिएको विश्व स्वास्थ्य संगठन...

जोखिम ज्यादा तयारी न्यून

काठमाडौं । यो वर्ष मनसुनको सुरुवातमै सिन्धुपाल्चोकमा बाढीले ठूलो क्षति पारेपछि अन्य ठाउँमा पनि ठूलो क्षति हुनसक्ने आँकलन गरिएको छ। असारको सुरुवातमै...

महन्थ ठाकुर पक्षले १५ दिनभित्र पार्टीको आधिकारिकता पुष्टि गर्ला ?

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षलाई १५ दिनभित्र आधिकारिकता पुष्टि गर्ने आधार तथा प्रमाण पेस गर्न भन्दै...

एकता नहुने सम्भावना

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नै पार्टी एकतामा बाधक देखिएका छन्। एमालेलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने सर्वाेच्च अदालतको...

कांग्रेसमा महाधिवेशनको गर्मी

काठमाडौं । नेपाली कांग्रेसभित्र १४औं महाधिवेशनको सरगर्मी सुरु भएको छ । महाधिवेशनको मिति अनुमोदन भएपछि नेताहरूले भेटघाट र दौडधुपलाई तीव्रता दिएका छन्...