महानगरलाई जिम्मेवारी उठाउन दिने हो भने हामी उपत्यकामा बस्ने सबैलाई सुरक्षित राख्न सक्छौं : मेयर शाक्य

पछिल्लो समय नयाँ भेरियन्टको कोभिड १९ को विश्वमहामारीले नेपाललाई आक्रान्त पारेको छ । संघीय राजधानीका रुपमारहेको काठमाडौंमा संक्रमितको संख्या दैनिक रुपमा तीव्र गतिमा बढिरहेको छ । गत वर्ष कोरोना संक्रमण देखापरे लगतै सरकारले लकडाउन गरेको थियो । त्यसबेला काठमाडौं महानगरपालिका क्षेत्रभित्र बस्ने नागरिकहरुलाई काठमाडौं महानगरपालिकाले भोकबाट जोगाउनका लागि राहत वितरण गर्नुका साथै स्वास्थ्य उपचारका लागि निःशुल्क एम्वुलेन्सको व्यवस्था पनि गरेको थियो । अहिलो दोश्रो चरणको कोरोनाको संक्रमण बढिरहेका बेला काठमाडौंलाई सुरक्षित राख्नका लागि काठमाडौं महानगरपालिकाले के गरिरहेका छ भन्ने विषयमा इकालोपाटी प्रतिनिधि अपरुष खतिवडाले महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यसँग गरेको कुराकानीको अंश :

० गत वर्ष पहिलो चरणको कोरोना देशमा भित्रिएपछि महानगरले कोरोना नियन्त्रणको लागि १० करोडको कोरोना नियन्त्रणको राहत प्याकेज ल्याएर काम गरेको थियो । अहिले फेरि नयाँ भेरियन्टको कोभिड १९ को संक्रमण बढिरहेको छ, महानगरले के गर्दैछ ?

पहिलो चरणको कोरोना देशमा भित्रिँदा हामीले कार्यपालिका बैठक बसेर नै कोभिड कोषको स्थापना गरी अघि बढेका थियौं । हामीले कोरोना महामरी विश्वभरि फैंलँदै गरेको समाचार बाहिरिने बित्तिकै देश प्रभावित हुने र त्यसको प्रभाव मूलभूत रुपमा काठमाडौंमा पर्न सक्ने अनुमान गरेका थियौं । त्यसैले कोरोना भित्रनु अघि नै दश करोडको कोरोना कोष स्थापना गरी अघि बढेका थियौं । तत पश्चात काठमाडौं मात्र नभई सिंगो उपत्यकालाई नै बचाउने गरी काम गर्नुपर्छ भनेर हामीले अन्य नगरपालिकालाई पनि साथमा लिएर हिँड्यौंं । त्यसपछि प्रदेश सरकार र नेपाल सरकारसँग पनि हामीले कुरा गर्यौं । त्यसवेलाको हाम्रो प्राथमिकता सरकारले घोषणा गरेको लकडाउनलाई पूर्णरुपमा सफल बनाउनेमा रह्यो । काठमाडौंका मान्छेले बाहिर जान पनि नपरोस् र काठमाडौं बाहिरबाट पनि काठमाडौं छिर्न नपाओस् भन्ने रणनीतिमा हामी थियौं । स्वास्थ्य मापदण्ड पालना गराउन हामी लागिपर्यौं । रोग लागेपछि उपचार गराउन कुद्नुभन्दा रोगै लाग्न नदिएमा मान्छेलाई बचाउन सकिन्छ भनेर हामीले धेरै काम गर्यौं । काठमाडौंमा रोजगारी गुमाएर भोको रहेका मान्छेको पेट पाल्ने जिम्मेवारी हामीले उठायौं । त्यसको बचन पनि हामीले दिएका थियौं । पहिलो पटकको लकडाउनमा काठमाडौं उपत्यकाले मात्र नभई देशका सबै स्थानीय निकायले धेरै राम्रो काम गरेका थिए । त्यसकै कारण त्यसबेला नेपालका जनताले कोरोनाका कारण धेरै ज्यान गुमाउन परेन । मान्छेहरुले पनि स्वास्थ्य मापदण्ड पालना गरे । त्यसले गर्दा उपत्यका कोरोना महामारी जित्न सफल भयो । त्यतिबेला हामी कोरोना नियन्त्रणमा सफल नै भयौं । तर विगतको अवस्था र अहिलेको अवस्था धेरै फरक छ । त्यसलाई अहिलेको अवस्थासँग तुलना गर्न मिल्दैन । त्यो एउटा कालखण्ड भइसकेको छ । अहिलेको अवस्था हिजोभन्दा डरलाग्दो अवस्था हो । त्यसबेला दीर्घरोगीहरुमा मात्र कोरोनाले असर गरेको थियो । अहिलेको डाटा हेर्ने हो भने केही रोग नलागेका युवाहरुमा पनि यसको असर छ । साथै बच्चाहरुमा पनि संक्रमण देखिइसकेको छ । त्यसकारण हिजोभन्दा अहिले बढी सतर्क रहनपर्ने अवस्था छ । त्यसैले म सबैलाई अनुरोध पनि गर्न चाहान्छु यसलाई हेलचक्य्राईं नगरौं । यसलाई ख्यालख्यालमा नलिऔं । संक्रमण भएर उपचार खोज्न जानुभन्दा संक्रमण हुन नदिनु राम्रो हो । अहिले बजारमा दुईथरी मास्कको चर्चा छ । पहिलो जो पाँचदेखि दस रुपैयाँमा पाइन्छ । सो मेडिकल मास्कले संक्रमितको श्वास आफूसँग नआउन दिन र आफ्नो श्वास पनि अरुमा जान नदिन रोक्ने गर्छ त्यसको प्रयोग हमेसा गरौं । दोस्रो मास्क भनेको संक्रमण भएपछि हस्पिटलमा लगाउन दिइने अक्सिजनको मास्क हो । बजारमा सजिलै पाउने मास्क लगाउने कि हस्पिटलमा गएर अक्सिजनको मास्क लगाउने ? केलाई हामीले रोज्ने भन्ने हो । यस्तोबेला मिडियाकर्मीहरुले सचेतना जनाइदिन जरुरी छ । यो अवस्था स्वास्थ्य संकटको हो । मिडियामा अहिले भेन्टिलेटर बढाऊ भनिराखिएको छ । त्यो ठिकै भए पनि हामीले त संक्रमित घटाऊ भन्नुपर्ने अवस्था छ । सचेत हौं भनेर सचेतना फैलाउनु छ । यो अभियानलाई सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले पनि चलाउनु आवश्यक भइसकेको छ । मिडियाकर्मीले पनि यो राष्ट्रिय दायित्व बोकिदिने हो भने यसलाई हामीले नियन्त्रण्मा राख्न सक्छौं ।

० यहाँहरु संक्रमितको संख्या घटाउनु पर्छ भन्ने अरुले भेन्टिलेटर बढाउ भन्ने कुरालाई आम नागरिकले कसरी बुझ्ने ?
अहिलो जहाँ पनि हेर्ने हो भने भेन्टिलेटर बढाऊ भन्ने छ । राजनीतिक दलहरुको विज्ञप्तिमा पनि त्यही छ । भेन्टिलेटर बढाऊ भन्ने । सरकारले आइसोलेसन बढाउनुपर्छ भन्ने छ । कोभिड हस्पिटल खोल भन्ने छ । वेड संख्या बढाऊ भन्ने छ । त्यो एक पाटो छँदै छ । जस्तो उमेर बढेपछि धेरैलाई सुगर हुने गरेको छ । साथीभाइहरुलाई पनि यो रोग देखिएको छ । यस्तोमा सुगर भएका साथीभाइले मैले त जेरी खाने गरेको छु भनेर दियो भने खाने कि नखाने ? मेरो मृगौला बिग्रियो भने जिन्दगीभर कमाएको पैसा पनि जान्छ र ज्यान पनि जान्छ भनेर सचेत भए जस्तै अहिले पनि हामी सचेत बन्न र सचेत बनाउन सकेनौं भने अवस्था जटिल हुने हुन्छ । म त हिजो मास्क नलगाई बाहिर गएर आएँ केही भएको छैन भन्दै बस्यो भने अरु जटिलता थपिन्छ । त्यसैले सर्वप्रथम स्वास्थ्य मापदण्ड हो । दोस्रोमा आइसोलेसन, भेन्टिलेटर, कोभिड अस्पताल हो । अस्पतालै जान नपर्ने गरी हामी पहिले बस्नुपर्छ ।
विशेषगरी जात्रापर्व, भिडभाड, अनावश्यक ख्यालख्याल गर्ने कुरा अहिले होइन । हामीले गम्भिर हुन आवश्यक छ । अहिले हामीले मास्क किन लाउनपर्छ र ? स्वास्थ्य मापदण्ड किन पालन गर्नपर्छ र भन्ने बेकारमा हल्ला फिँजाउन हुँदैन । यस्तो भ्रम पनि फैलिएको छ । विश्वभरिको अवस्थालाई हेरेर विश्लेषण गर्नपर्छ ।

० पहिलो चरणको कोरोनामा गरेको जस्तै यसपटक एम्बुलेन्स अस्पताल, आमनागरिकको स्वास्थ्य समस्यालाई कसरी सम्बोधन गर्ने सोच बनाउनु भएको छ ?
अहिले कोभिडका बारेमा बच्चाहरु पनि जानकार छन् । तर, हेलचक्य्राँइ छ । आफूलाई नपरी नचेत्ने हाम्रो बानी छ । यसलाई कसरी लिने भन्ने कुरा हो । मोबाइलमा फोन गर्दा बज्ने सन्देश मात्र पालना गर्ने हो भने पनि हामी कोरोनालाई जित्न सफल हुन्छौं । त्यो कुरामा महानगरले टेलिकमसँग सहकार्य गरेको छ । त्यसका अतिरिक्त महानगरले स्वास्थ्य मापदण्ड पालना गर्न माइकिङ गरिरहेको छ । विभिन्न वडामा समाजिक कार्यकर्तालाई खटाएका छौं । जसले आमनागरिकलाई मद्दत गरोस् भन्ने हो । स्वास्थ्य स्वयंसेविकाहरु खटाइएका छन् । नगरप्रहरीलाई पनि परिचालन गरेका छौं । मान्छेहरुको ज्यान बचाउने कुरामा हामी सचेत भएका छौं । नागरिकले मापदण्ड पालना गरिदिए भने हामी कोरोनालाई जित्नसक्ने गरी काम गरिरहेका छौं । हामीले निशुल्क दूई एम्बुलेन्स सेवा दिएका छौं । जसलाई १०२ मा फोन गरेर समस्या पर्दा प्रयोग गर्न सकिन्छ । पहिलो एम्बुलेन्स मिनि हस्पिटलको रुपमा संचालनमा छ । जसमा कोभिड विरामीदेखि विभिन्न खाले बिरामीलाई प्राथमिक उपचारसमेत त्यसमा गर्न सकिन्छ । अर्को निषेधाज्ञामा चल्ने गरी एम्बुलेन्स दिएका छौं । जसले बिरामीलाई घरदेखि अस्पताल अस्पतालदेखि घर पुर्याउने काम गर्छ । जो हटलाइन ११८० नम्बरमा फोन गर्दा चौबिसैघन्टा संचालनमा हुन्छ । यसको दुरुपयोग नगरिदिन पनि म सबैलाई आग्रह गर्छु । समस्या परेका बिरामीलाई सेवा दिन हामी कटिबद्ध हुनुछ । तपाईं जुन वडामा हुनुहुन्छ सो वडाको साथीलाई नै भन्नुभयो भने पनि यसको समन्वय हुन्छ । हटलाइन पनि छँदैछ । अनि काठमाडौं उपत्यकाका अस्पतालहरुसँग हामीले समन्वय गरिदिएका छौं ।

० निःशुल्क भनिएको एम्बुलेन्स चालकले पैसा लिएको खण्डमा के गर्नुहुन्छ ?
त्यसो भएमा कारबाही हुन्छ । हामीले सार्वजनिकरुपमा नै भनिसकेपछि महानगरको एम्बुलेन्सलाई कसैले पैसा दिनु आवश्यक छैन । र कसैले पैसा दियो भने चालकले पैसा लिन पाउँदैन । उसले यो निःशुल्क हो भनेर बुझाउनुपर्छ । यसो भन्दाभन्दै पनि पैसा लिइन्छ भने कारबाही गर्नुपर्छ ।

० महानगरले चलाएको कोही भोकै नपरुन्, कोही भोकै नमरुन् भन्ने अभियान के हो ? यसले कसरी काम गर्छ ?
त्यो पहिलो चरणमा हामीले सुरु गरेको अभियान हो । त्यसको राम्रो फिडब्याक महानगरले पाएको थियो । अहिले हामीले वडाहरुलाई कोषको व्यवस्था गरिदिएका छौं । जसमा पैसा जम्मा गरिदिने काम भइसकेको छ । कसैलाई समस्या परेको खण्डमा वडासँग भनेपछि वडाले नै त्यसको समन्वय गर्छ । वडा वडाले नजिकबाट यस्ता समस्यालाई हेरोस् भन्ने हाम्रो चाहना हो । बजार बिहान खोल्न दिने काम पनि भोकसँगै सम्बन्धित कुरा हो । खाद्यान्नको समस्या नहोस् भनेर बजार अनुगमन गरिरहेका छौं । आपूर्ति र मागको समन्वय गरिदिने पाटो त छँदै छ । नागरिकले नागरिकलाई सहयोग गर्ने पाटो पनि छ । यसो गर्दागर्दै पनि व्यक्तिले समस्या पाएको खण्डमा हामी छौं ।

० काठमाडौं महानगर उपत्यकावासीलाई बचाउन सक्षम छ त ?
हामी अवश्य पनि सक्षम छौं । उपत्यका नगरपालिका फोरममा हामी आज पनि एक ढिक्का छौं । हामीले तीवटै जिल्लाका नगरपालिकाको वडाहरुसँग पनि राम्रो साथ पाएका छौं । पहिलो चरणमा उपत्का बाहिरबाट केही समय मान्छे आउन रोकौं भन्दा केन्द्र सरकारसँग राम्रो समन्वय भएन । अहिले उहाँहरुले उपत्यका फोरमको कुरा ठिक रहेको महसुस गर्नु भएको छ । त्यो बाहिर आइसकेकै कुरा भयो । सरकारले गर्न नसक्ने अवस्थामा पनि उपत्यका नगरपालिका फोरमले काठमाडौंभित्र बसिरहेका सबै नागरिकलाई बचाउने सक्षमता राख्दछ । यसमा हाम्रो फोरम एक नै छ । कुनै समस्या छैन । त्यतिबेला बनेको संयन्त्रले राम्रो काम गर्न सकिन्छ । हामीले उतिबेला पनि संक्रमितहरु देखिएपछि पिसिआर क्षमता बढाउँदै लग्यौं । त्यसबाट संक्रमति संख्या र निको हुने संख्या यकिन गर्न सजिलो भएको थियो । सरकारसँग पनि राम्रो समन्वय भयो । अहिले पनि हामी त्यसैगरी काम गरिरहेका छौं । एन्टिजेन परीक्षण त्यतिबेला थिएन । अहिले यो थपिएको छ । काठमाडौं महानगरका अतिरिक्त अन्य स्थानीय तहले पनि यसै अनुरुप काम गरिरहेको हो । स्थानीय सरकार भएको कारण नै पहिलोपटकको कोरोना संक्रमण बढ्न नदिन हामी पाउन सफल रह्यौं । पहिलो कोरोनाको दुर्घटनाबाट हामी यसकारण बच्यौं कि स्थानीय सरकारले राम्रो काम गर्यो समयमा होसियारी अपनायो । यसपटक पनि स्थानीय तहले जिम्मेवारी उठाउनु आवश्यक छ । महानगरलाई नै महानगरको जिम्मेवारी उठाउन दिने हो भने हामी उपत्यकामा बस्ने सबै मान्छेलाई बचाउन सक्छौं । यसमा दुई मत छैन । म के भन्छु भने जस लिनको लागि होडवाजी नगरौं । मिलेर काम गर्नुपर्छ सबै स्थानीय तह आआफैंमा सक्षम छन् । उपत्यका फोरम त सक्षम नहुने कुरै भएन ।

० स्थानीय सरकारलाई सक्षम हुँदाहुँदै पनि पूर्ण अधिकार नदिनुको कारण चाँहि के हो त ?
गत वर्ष कोरोना संक्रमण रोकथामका लागि सीसीएमसीको बैठकमा हामीलाई पनि बोलाइएको थियो । अहिले भने हामीलाई त्यो बैठकमा बोलाइएन । किन नबोलाइएको हो थाहा भएन । त्यहाँबाट निर्णय भएर आएपछिको सबै कुरा कार्यान्वयन गर्ने त आखिर स्थानीय तहले नै हो । संघ सरकारले बोलिदिने मात्र हो । गर्ने त हामी नै हौं । अघिल्लो वर्ष लकडाउनका बेला कसैलाई भोको रहन नदिने काम कसले चलाएको थियो ? वडा वडाको स्वयंसेविकाहरुलाई फिल्डमा लान सक्ने वातावरण नै हामीले सिर्जना गरेका थियौं । डिस्इन्फेक्सनको कुरा पनि थियो । यी चीजहरुले स्थानीय तहलाई ठूलो पाठ पढाएको छ । विपत् पर्दा सहयोग गर्नमा पनि स्थानीय तहको ठूलो भूमिका रहन्छ । म के भन्छु भने कोभिडको पहिलो चरणमा मभन्दा बढी मेरा वडाका अध्यक्षहरु, सदस्यहरु धेरै खटिएका थिए । जो खटिन्छ उसलाई जिम्मेवारी दिन पछि हट्न हुन्न । टिमवर्कमा मलाई एकदमै विश्वास छ । उतिबेला पनि मैले समन्वकारी भूमिका र टिमवर्कलाई प्राथमिकतामा राखेकै हो । अहिले पनि काठमाडौंका वडाध्यक्ष सदस्यहरुको खटाईलाई धन्यवाद दिने नै अवस्था छ । म दिन्छु पनि । त्यसैगरी स्वास्थ्यकर्मीहरुको भूमिका अत्यन्त सराहनीय छ । उनीहरुले हामीलाई बचाउने गरिकन काम गरिरहेका छन् । फिल्डमा खटिइरहेका छन् । उनीहरुलाई हामीले केही गरिदिन नसके पनि मानमर्यादा गर्नचाँहि नभुलौं । उनीहरुको उच्च सम्मान स्थानीय तहले गरिराखेको छ । काम गर्ने सबै मान्छेहरु स्थानीय तहसँग सरोकार राख्छन् । सुरक्षाकर्मीहरुलाई पनि घर गएर परिवारसँग बस्न मन होला । स्वास्थ्यकर्मीहरुलाई पनि परिवारसँग बस्ने चाहना होला । स्थानीय जनप्रतिनीधि अहोरात्र खटिरहेका हुन्छन् । उनीहरुलाई हो नि कामको जिम्मेवारी दिने । अरु स्वास्थ्यका कर्मचारीहरुसँग समन्वय गरिदिने पनि स्थानीय तहले नै हो । विस्तारै जिम्मेवारी दिने र जिम्मेवार बनाउने काम हुन्छ आशा गरौं, हामी अहिलेको यो महामारीमा पनि आम नागरिकलाई सुरक्षित राख्न सक्छौं । आम नागरिकहरुले पनि सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालन गर्नु हुन म पुन :अनुरोध गर्दछु।

+ posts

सम्वन्धित समाचार

अधिकांश स्थानीय तहको बजेट आज

काठमाडौं । अधिकांश स्थानीय तहले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट आ–आफ्नो सभामा बिहीबार प्रस्तुत गर्दैछन् । कतिपय स्थानीय तहले असार १०...

झरीको दिनमा बजेट भ्याउन पिच

विराटनगर । प्रदेश १ को राजधानी विराटनगरमा महानगरपालिकाले २ नम्बर वडा क्षेत्रमा सडक कालोपत्रेको काम असारको पहिलो साता मात्रै सुरु ग¥यो। बजेट...

ताजा समाचार

अधिकांश स्थानीय तहको बजेट आज

काठमाडौं । अधिकांश स्थानीय तहले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट आ–आफ्नो सभामा बिहीबार प्रस्तुत गर्दैछन् । कतिपय स्थानीय तहले असार १०...

झरीको दिनमा बजेट भ्याउन पिच

विराटनगर । प्रदेश १ को राजधानी विराटनगरमा महानगरपालिकाले २ नम्बर वडा क्षेत्रमा सडक कालोपत्रेको काम असारको पहिलो साता मात्रै सुरु ग¥यो। बजेट...

मान्छे बेच्ने म्यानपावरका माफियालाई झड्का

काठमाडौं । वैदेशिक रोजगार ऐनअनुसार वैदेशिक रोजगार व्यवसायी कम्पनीमध्ये ८५ प्रतिशत खारेजीको जोखिममा पुगेका छन् । आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ मा...

११ र १२ का सबै विद्यार्थीले निशुल्क पाठ्यपुस्तक पाउने

काठमाडौं ।  सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययन गर्ने सबै विद्यार्थीले यस पटकबाट निःशुल्क पाठ्यपुस्तक प्राप्त गर्ने भएका छन् ।...

वकिलहरूको ठहर देउवाको माग दाबी पुगेको छ

काठमाडौं । कानुन व्यवसायीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो स्पष्ट बहुमत दाबी गर्दै दायर गरेको रिट निवेदनमा सांसदहरू आफैं अदालतमा आई हस्ताक्षर...