कत्तिको प्रभाकारी छ अनलाइनबाट गरिने पढाइ ?

सन् २०१९ को डिसेम्बरमा चिनको बुहान शहरबाट प्रारम्भ भएको कोभिड–१९ बाट चिनमा मात्रै झण्डै ९१ हजार सङ्क्रमित भए भने यसैको कारण ४ हजार ६ सय ३६ जनाले ज्यान गुमाए । विस्तारै कोरोना भाइरसको सङ्क्रमणले युरोप हुँदै अमेरिकालाई पनि गाँज्न पुग्यो । विश्व स्वास्थ्य सङ्गठनले २०२० मार्च ११ का दिन यसलाई ‘महाव्याधि’ (Pandemic) को रुपमा घोषणा गरेर कोभिड–१९ सँग जुझ्नका लागि विश्वलाई नै आव्ह्वान गर्‍याे । यो आलेख तयार होउन्जेलसम्म विश्वमा कोरोना सङ्क्रमितको सङ्ख्या १५ करोड ७५ लाख नाघिसकेको छ ३२ लाख ८४ हजार जनाले यसैकारण ज्यान गुमाइसकेका छन् । नेपालमा पनि हालसम्म यसबाट ३ लाख ७७ हजार सङ्क्रमित भइसकेका छन् भने ३ हजार ५ सयले ज्यान गुमाएका छन् । यसले मानिसहरूको जनजीवन अस्तव्यस्त बनाएको छ भने सबैमा त्रासको वातावरण सिर्जना गरेको छ ।

मानिस सामाजिक–सांस्कृतिक प्राणी हो । उ एक्लै बाँच्नै सक्दैन, उसलाई समाज चाहिन्छ । तर, कोरोनाले मानिसको दैनिकी परिवर्तन गर्न बाध्य पारिदियो । विश्वका अधिकांश मुलुकमा बन्दाबन्दी (Lockdown) लागु गरियो । मानिसहरूले एकआपसमा सामाजिक (भौतिक) दुरी कायम राख्नुपर्‍याे । उनीहरू घरभित्रै थुनिए । शिक्षण संस्थाहरू बन्द गर्नुपर्‍याे । यसबाट सबैभन्दा बढी विद्यार्थीहरू प्रभावित भए । विद्यार्थीहरूको पठनपाठन ठप्प भयो । युनेस्को (UNESCO) को प्रतिवेदनअनुसार यस महाव्याधिले विश्वका १९१ मुलुकका लगभग १ अरब ६० करोड बालबालिकाको पठनपाठनमा प्रत्यक्ष प्रभाव पार्‍याे । नेपालमा पनि सन् २०२० को मार्च २४ मा बन्दाबन्दी लागु गरियो र यो निकै महिनासम्म लम्बियो । सम्पूर्ण विद्यालय, कलेजहरू बन्द गरिए । आफ्ना विद्यार्थीहरूको पठनपाठनलाई कुनै न कुनै तरिकाले सुचारु गर्न सुरुमा केही शिक्षण संस्थाले ‘अनलाईन कक्षा’ प्रारम्भ गरे । पछि धेरैले यसलाई अनुशरण गरे । नेपाल सरकारको शिक्षा मन्त्रालयको पहलमा टेलीकक्षा (टेलिभिजनमार्फत् शिक्षण प्रणाली) प्रारम्भ भयो । केही महिना पछि त ‘अनलाईन कक्षा’ शिक्षण प्रणालीको रुपमा स्थापित नै हुन पुग्यो । केही विद्यालयले त पछिसम्म पनि यसलाई नै निरन्तरता दिए । अहिले नेपाल पुनः कोरोनाको दोस्रो लहरबाट आक्रान्त बनेको छ । बन्दाबन्दी फेरी सुरु भएको छ । कलेज र विद्यालयहरू पुनः बन्द भएका छन् । फेरी अनलाईन कक्षा सुरु भएको छ । यहाँनेर प्रश्न उठेको छ, के अनलाईन कक्षा प्रभावकारी छ त ? यसले शिक्षाको गुणस्तरता कायम गर्न सकेको छ ? यसका चुनौतीहरू के के छन् ? यसलाई कसरी प्रभावकारी बनाउन सकिन्छ, आदि ? यिनै प्रश्नहरूलाई लक्षित गरी यस लेख तयार पारिएको हो ।

विश्वका थुप्रै मुलुकमा पहिले पनि ‘भर्चुअल’ विधिबाट अध्यापन गर्ने गराउने गरिन्थ्यो । थुप्रै विश्विद्यालयहरूले ‘डिस्ट्यान्स कोर्स’ चलाउँदै आएका छन् । विशेषतः नियमित रोजगारीमा सङ्लग्न विद्यार्थी तथा दैनिक रुपमा विश्वविद्यालय आउन नसक्ने विद्यार्थीहरूलाई लक्षित गरी यस्ता कोर्षहरू सञ्चालन हुने गरेका छन् । सुविधासम्पन्न समाजका विद्यार्थीहरूको लागि यो शिक्षण विधि प्रभावकारी देखिएको पनि छ । तर, अहिले वाध्यात्मक रुपमा यो शिक्षण विधि अनुशरण गर्नु परेको स्थिति हो । साथै, नेपाल जस्तो विकासोन्मुख राष्ट्रहरूमा यसको उपयोगिता कत्तिको छ भन्नेबारे विश्लेषण हुनु जरुरी छ ।

केही महिना यता अनलाइन कक्षा सञ्चालन गर्ने शिक्षण संस्थाहरूले आफ्ना विद्यार्थी र तिनका अभिभावकहरूलाई पूर्वसूचित गरेर नै यो कक्षा सञ्चालन गरको पाइन्छ । यस्ता कक्षा सञ्चालनका लागि ‘जुम’, ‘गुगलमिट’ जस्ता एप्सहरूको प्रयोग भइरहेका छन् । शिक्षण संस्थाले आफ्नो विद्यार्थीको सुविधाअनुसार कक्षा सञ्चालन अवधि निर्धारण गर्ने गर्दछन् । यसको लागि संस्थाले विद्यार्थीहरूलाई पूर्वनिर्धारित समयअनुसार जुम वा गुगलमिटका लिङ्क पठाउँछन् र विद्यार्थीहरू सोही तालिकाअनुसार अनलाइन कक्षामा सहभागी हुन्छन् । विद्यार्थीहरू आफ्नो हैसियतअनुसार ‘ल्यापटप’ वा ‘एन्ड्रोइड मोबाइल’ को उपयोग गर्दछन् । तुलनात्मक रुपमा ल्यापटप महंगो पर्ने हुँदा प्राय विद्यार्थीहरूले कक्षामा सहभागी हुनका लागि ‘एन्ड्रोइड मोबाइल’को उपयोग गर्ने गरेको पाइन्छ । यस पङ्क्तिकार पनि काठमाडौंको एक कलेजमा अध्यापन कार्यमा सङ्लग्न भएकोले केही समय यता भर्च्युअल विधिबाट अध्यापन गर्ने कार्यमा सङ्लग्न हुँदै आएकोले प्राय अनलाइन कक्षा यसरी नै सञ्चालन हुने गरेको अनुभव छ ।

अनलाइन कक्षाको प्रभावकारिताको विषयमा विभिन्न अध्ययन तथा अनुसन्धान भइसकेका छन् । अनुसन्धानको परिणामले अनलाइन कक्षाको सवल र कमजोर पक्षबारे उजागर गरको छ । मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरूसँग गरिएको एक सर्वेक्षणअनुसार केही विद्यार्थीहरूले आफ्नो घरमा इन्टरनेट सुविधा नै नरहेको बताए भने धेरैजसो विद्यार्थीहरूले इन्टरनेट सेवाको गुणात्मकतामा घटबढ भइरहने समस्याले गर्दा अनलाइन कक्षामा बाधा पुर्‍याएको जानकारी दिएका छन् । त्यस्तैगरी नर्सिङ विद्यार्थी र प्राध्यापकहरूबिच गरिएको एक सर्वेक्षणले पनि करिब ५० प्रतिशत शिक्षक र ७५ प्रतिशत विद्यार्थीहरू विद्युतको अनियमितता र इन्टरनेट सेवाको असुविधाबाट प्रभावित भएको देखाएको छ । कक्षा चल्दाचल्दै बिचबिचमा सम्बन्ध टुट्ने कारण सिकाईमा बाधा पुग्ने गरेको गुनासो धेरैको छ । केहीले ‘डाटा–प्याकेज’ किनेर कक्षामा सहभागी हुने गरेको पाइएको छ । तर, कतिपय गाउँमा ‘सञ्चार सिग्नल’ कमजोर हुँदा ‘डाटा–प्याकेज’ पनि प्रभावकारी हुन सकेको देखिएन । ‘डाटा–प्याकेज’ महंगो पनि पर्ने भएकोले धेरैको लागि यो उपयोगी हुन सकेको छैन । अनुसन्धानले विद्युतको अनियमितता र इन्टरनेटको कमजोर गुणात्मकताले अनलाइन कक्षाको प्रभावकारितामा नकारात्मक असर पारेको देखाएको छ ।

नियमित कक्षामा जस्तो एक अर्कालाई हेरेर, विद्यार्थीको मनोविज्ञान बुझेर पढाउन पाउने वातावरण भच्र्युअल विधिमा हुन सक्दैन । अधिकांश विद्यार्थीहरूले भिडियो बन्द गरेका हुन्छन् । विद्यार्थीहरूको अनुहार नहेरी गरिने सञ्चार अपेक्षाकृत रुपमा प्रभावकारी हुन सक्दैन । भिडियो बन्द भएको अवस्थामा विद्यार्थीहरू साथमा छन् कि छैनन् भन्ने थाहा हुँदैन । उनीहरूले शिक्षकका कुरा सुनिरहेका छन् वा छैनन् भन्ने पनि थाहा हुँदैन । विद्यार्थीहरूलाई शिक्षकलाई केही प्रश्न सोध्ने चाहना भएमा तत्कालै प्रश्न सोध्न प्राविधिक रुपमा कठिनाई पर्ने देखिन्छ । दोहोरो सञ्चार हुन नसक्दा विद्यार्थीहरूमा रुचि कम हुन्छ र उनीहरू निस्कृय हुन पुग्छन् । यस्तो एकोहोरो व्याख्याबाट विद्यार्थीहरूले कति सिक्न सक्छन् भन्ने प्रश्न महत्वपूर्ण छ । अनुसन्धानका क्रममा यसबारे सोधिएको प्रश्नमा धेरैजसो विद्यार्थीहरूले सिकाई प्रभावकारी नभएको बताएका छन् । जनस्वास्थ्य विषय अध्यापन गराउँदा अन्तरक्रियात्मक हुनुपर्ने र शिक्षक र विद्यार्थीहरूबिच दोहोरो सञ्चार हुनुपर्छ । अनलाइन कक्षामा यस्तो दोहोरो सञ्चार हुन सक्दैन । ‘नहुनु मामाभन्दा कानो मामा जाति’ भन्ने नेपाली उखान जस्तै यस्ता भर्च्युअल कक्षाहरूले शिक्षण प्रणालीमा केही योगदान त गरेको छ तर यसलाई यहि तरिकाले निरन्तरता दिनु उचित हुँदैन यसको प्रभावकारिताको लागि सम्पूर्ण सरोकारवालाहरू सक्रिय हुनु जरुरी छ ।

अनलाइन कक्षाको प्रभावकारिताको लागि यससँग सम्बन्धित सम्पूर्ण सरोकारवालाहरूको सहयोगको आवश्यकता पर्दछ । मुलतः यससँग सम्बन्धित सरोकारवालाहरू हुन् ः शिक्षण संस्था, शिक्षक, विद्यार्थी, अभिभावक र सेवा प्रदायक संस्थाहरू । सेवा प्रदायक संस्थाहरूमा विद्युत कार्यालय र इन्टरनेट सेवा दिने संस्था पर्दछन् । साथै, यी संस्थाहरूले दिने सेवालाई प्रभावकारी बनाउन आवश्यक नीति निर्देशन दिन र सेवाको अनुगमन गर्न सरकारको भूमिका महत्वपूर्ण हुन्छ । अनलाइन कक्षाको प्रभावकारिता विषयमाथि गरिएका अनुसन्धानहरूले पनि यसबारे प्रकाश पारेका छन् । यी सबै सरोकारवालाहरूको भूमिकाबारे स्पष्ट व्याख्या हुनु जरुरी हुन्छ ।

शिक्षण संस्थाको भूमिका :
शिक्षण संस्थाले अनलाइन कक्षाको लागि आवश्यक व्यवस्था मिलाउनुका साथै उक्त कक्षामा सम्पूर्ण विद्यार्थीहरूको अनिवार्य उपस्थितिलाई सुनिश्चित गर्नका लागि आवश्यक नियम बनाउनुका साथै यसको अनिवार्य पालना गराउनु पर्दछ । त्यस्तै, अनलाइन कक्षा सञ्चालनका लागि शिक्षकहरूको व्यवस्था गर्ने, यसको लागि भौतिकपूर्वाधारको व्यवस्था गर्ने जिम्मेवारी पनि संस्थाको नै हुन्छ । संस्थाले अनलाइन कक्षामार्फत शिक्षण प्रणाली कसरी सञ्चालन भइरहेको छ भन्नेबारे नियमित रुपमा अनुगमन गर्नुका साथै आवश्यकतानुसार सहयोग गर्नु पर्दछ ।

शिक्षकको भूमिका :
अनलाइन कक्षाको प्रभावकारी सञ्चालनमा सबैभन्दा अहं भूमिका शिक्षकको हुन्छ । शिक्षण प्रक्रियालाई रुचिकर बनाई कक्षा अवधिभर विद्यार्थीहरूलाई सहभागी गराउनु शिक्षकको जिम्मेवारी भित्र पर्दछ । भौतिक रुपमा कक्षा सञ्चालन गर्दा शिक्षक र विद्यार्थीबिच दृष्यात्मक सञ्चार पनि हुन्छ र उनीहरूबिच हुने सञ्चार सहज र प्रभावकारी
हुन्छ । तर, अनलाइन कक्षामा यो सुविधा नुहुने भएकोले अनलाइनमार्फत सिकाउने विधिमा केही परिवर्तन ल्याउनु पर्दछ । यस्तो अवस्थामा शिक्षकको आवाज, बोल्ने प्रक्रिया, दिइने उदाहरणहरू र प्रस्तुतिकरणका सामग्रीहरूले शिक्षण प्रक्रियालाई रोचक र सिकाईपूर्ण बनाउन मदत पुग्दछ । बिचबिचमा विद्यार्थीको नामै लिएर प्रश्न सोध्दा विद्यार्थीहरू जुनैसुकै बेला आपूmलाई प्रश्न सोधिन सक्छ भनेर जागरुक हुन्छन् । त्यस्तै, शिक्षण प्रक्रियाबारे बेलाबेलामा विद्यार्थीहरूसँग अन्तरक्रिया गरी विद्यार्थीहरूको सुझावअनुसार शिक्षण विधिमा फेरबदल गर्नुपर्ने हुन्छ । साथै, समस्या परेका विद्यार्थीहरूको अभिभावकसँग बेलाबखतमा कुराकानी गर्न सकिएमा विद्यार्थीहरूले शिक्षकलाई सिकाउने व्यक्तिको रुपमा मात्र नलिई अभिभावकको रुपमा ग्रहण गर्दछन् । यसले सिकाई प्रक्रियालाई थप प्रभावकारी बनाउन सक्छ ।

विद्यार्थीको भूमिका :
अनलाइन कक्षालाई बढी प्रभावकारी बनाउनका लागि विद्यार्थीको भूमिका पनि अत्यन्तै महत्वपूर्ण हुन्छ । विद्यार्थीहरू स्व–निर्देशित र स्व–प्रेरित भई शिक्षण प्रक्रियामा सहभागी हुन सकेमा यो विधि उपयोगी हुन सक्छ । कतिपय विद्यार्थीहरू प्रत्यक्ष कक्षाकोठामाभन्दा भर्च्युअल कक्षामा बढी सहभागी भएको पनि पाइएको छ । घरमै बसेर कक्षा लिन मिल्ने, काम गर्नेहरूका लागि पनि सहज हुने, काम गर्दागर्दै पनि सुन्न सकिने भएकोले विद्यार्थीहरूको लागि यो विधि झनै सहज हुन सक्छ । विद्यार्थीहरू उत्प्रेरित र प्रतिवद्ध भएर समयमै कक्षामा सहभागी हुने, छलफलमा भाग लिने, गृहकार्यहरू नियमित रुपमा गर्ने, नजानेका कुराहरू तुरुन्तै सोध्ने, बोल्न अप्ठ्यारो लागेमा च्याट बक्समा लेखेर सोध्ने गर्न सकेमा अनलाइन कक्षालाई धेरै उपयोगी बनाउन सकिन्छ ।

अभिभावकको भूमिका :
अनलाइन शिक्षालाई उत्साहित र प्रभावकारी बनाउन अभिभावकको भूमिका पनि महत्वपूर्ण हुन्छ । भौतिक रुपमा विद्यालय वा कलेजमा सञ्चालन हुने कक्षाहरूमा आफ्ना छोराछोरीले कस्तो गरिरहेका छन् भनी बुझ्न अभिभावकलाई कठिन पर्दछ । तर, अनलाइन कक्षामा उनीहरूले सहज रुपमा आफ्ना छोराछोरीका गतिविधिहरू अनुगमन गर्न सक्दछन् । उनीहरूले कक्षामा ध्यानपूर्वक सहभागी भइरहेका छन् कि छ्रैनन् भनी अभिभावकले निगरानी गर्नुका साथै आवश्यकतानुसार भौतिक सुविधाको व्यवस्था मिलाई दिनुपर्ने हुन्छ । ल्यापटप वा मोबाइलको व्यवस्था गरिदिने, इन्टरनेटको सुविधा मिलाई दिने, शान्त वातावरणमा बस्ने व्यवस्था मिलाई दिने आदि भूमिका अभिभावकको हुन्छ । आवश्यकताअनुसार बेलाबेलामा शिक्षक र शिक्षण संस्थासँग कुराकानी गरी सल्लाह सुझाव दिनुपर्ने हुन्छ ।

सेवा प्रदायक संस्थाको भूमिका :
अहिले सिंगो मुलुक नै बन्दाबन्दीको अवस्थामा छ । प्राय सबै शिक्षण संस्थाहरूले अनलाइन कक्षा सञ्चालन गरिरहेका छन् । तसर्थ, अनलाइन कक्षामार्फत गरिने शिक्षण कार्य सबैको चासोको विषय बनिसकेको छ । यसलाई संस्था, शिक्षक र विद्यार्थीहरूसँग सम्बन्धित विषयको रुपमा मात्र लिइनु हुँदैन । अनलाइन कक्षालाई प्रभावकारी बनाउन सहयोग गर्नुपर्ने प्रमुख सेवा प्रदायक संस्थामा विद्युत कार्यालय र इन्टरनेट उपलब्ध गराउने संस्था पर्दछन् । यी संस्थाहरूले विद्युतको नियमितता र इन्टरनेटको गुणात्मकतालाई सुनिश्चित गरिदिनु पर्दछ । साथै, यी संस्थाहरूको सेवालाई नियमित रुपमा अनुगमन गर्ने दायित्व सरकारको हुन्छ । साथै, सरकारले अनलाइन कक्षाको प्रभावकारिताको लागि आवश्यकतानुसार नीति बनाई त्यसको अनिवार्य कार्यान्वयन गराउनु गर्दछ ।

यसरी सम्पूर्ण सरोकारवालाहरूले इमान्दारीपूर्वक आफ्नो जिम्मेवारी पुरा गर्ने र एकआपसमा निरन्तर साथ, सहयोग र हौसला दिने कार्य गरेमा अनलाइन कक्षालाई प्रभावकारी बनाउन सकिन्छ । अनलाइन पठनपाठनका लागि सहुलियत दरमा आवश्यक इन्टरनेट सुविधा दिने, अभिभावक र विद्यार्थीसँग उपयुक्त सञ्चार गर्ने, शिक्षक/प्राध्यापकहरूलाई भर्च्युअल शिक्षण प्रणालीबारे तालिमको व्यवस्थापन गर्न सकिएमा शिक्षणका लागि यस वैकल्पिक विधिलाई पनि उत्तिकै प्रभावकारी बनाउन सकिन्छ । बन्दाबन्दीको अवस्थाले अनलाइन शिक्षणलाई एउटा अवसरको रुपमा प्रस्तुत गरेको छ र भविष्यमा हुन सक्ने कुनैै पनि प्रतिकुल परिस्थितिमा यस माध्यमलाई भरपूर उपयोग गर्न सकिनेछ । यसलाई वाध्यताको रुपमाभन्दा अवसरको रुपमा लिई प्रभावकारी बनाउन सम्पूर्ण सरोकारवालाहरू लागौँ र हाम्रा विद्यार्थीहरूको भविष्य निर्माण कार्यमा योगदान गरौँ । योसँगै मुलुकको भविष्य पनि जोडिएको छ ।

लेखक पुरानो बानेश्वरस्थित NAMS कलेजमा जनस्वास्थ्य विषय अध्यापन गर्नुहुन्छ ।

+ posts

सम्वन्धित समाचार

सांसद प्रदीप गिरि भन्छन्, विदेश नीतिमा साझा धारणा बनाउॅ

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप गिरिले सबैभन्दा पहिले साझा विदेश नीति बनाउनुपर्ने बताएका छन् । अमेरिकी परियोजना एमसीसी सम्झौता खारेजको माग...

तुइन काट्ने भारतीय सुरक्षाकर्मीको कदम अमानवीय : भीम रावल

काठमाडौं । दार्चुलास्थित सीमानदी महाकालीमाथि एकजना नेपाली सवार तुइन काट्ने भारतीय सुरक्षाकर्मीको कदमलाई जति निन्दा गरे पनि कम हुन्छ । यो कदमलाई...

ताजा समाचार

सांसद प्रदीप गिरि भन्छन्, विदेश नीतिमा साझा धारणा बनाउॅ

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप गिरिले सबैभन्दा पहिले साझा विदेश नीति बनाउनुपर्ने बताएका छन् । अमेरिकी परियोजना एमसीसी सम्झौता खारेजको माग...

तुइन काट्ने भारतीय सुरक्षाकर्मीको कदम अमानवीय : भीम रावल

काठमाडौं । दार्चुलास्थित सीमानदी महाकालीमाथि एकजना नेपाली सवार तुइन काट्ने भारतीय सुरक्षाकर्मीको कदमलाई जति निन्दा गरे पनि कम हुन्छ । यो कदमलाई...

३३ किलो सुन काण्डका भोजराज भण्डारी पक्राउ

काठमाडौं ।३३ किलो सुन काण्ड ओली सरकारको पालामा खुबै चर्चामा रह्यो । नयां सरकार बनेपछि सानो भुरा भने पनि समातिएका छन् ।...

खोप लुकाएर चैन गरिरहेका खड्का पक्राउ

झापा । सबै नागरिक खोपको लागि तड्पिरहेका छन् । तर, माफियाहरु भने खोप लुकाएर चैन गरिरहेका छन् । कोरोनाविरुद्धको खोप पाउन सर्वसाधारण...

माधव नेपालको दोस्रो अध्यक्षको प्रस्ताव स्वीकार गर्न सकिन्न : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षले राखेको दोस्रो अध्यक्षको प्रस्ताव स्वीकार गर्न नसकिने बताएका छन्।