खानेपानीको पाइप फुट्दा बबरमहल क्षेत्रका सरकारी कार्यालयहरू डुबानमा [तस्बिरसहित]

काठमाडौँ । खानेपानीको थोक प्राणालीको पाइप फुट्दा काठमाडौँको बबरमहल क्षेत्र जलमग्न भएको छ ।

बुधबार दिउँसो विद्युत् प्राधिकरणले विद्युत्का तारहरू अण्डरग्राउण्ड गर्नका लागि ‘होेरिजोन्टल ड्रिलिङ’ गर्ने क्रममा बबरमहलस्थित खानेपानीको थोक वितरण प्रणालीको पाइप फुटेपछि सो क्षेत्र जलमग्न भएको हो ।

काठमाडौँ उपत्यका खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) का प्रमुख टीकाबहादुर चौधरीले विद्युत्का तारहरू अण्डरग्राउण्ड गर्नका लागि ‘होेरिजोन्टल ड्रिलिङ’ गर्ने क्रममा खानेपानीको थोक वितरण प्रणालीको पाइप फुटेको जानकारी दिए ।

पाइप फुटेर पानी पसेपछि बबरमहलस्थित विशेष अदालतसहित वरपरका सरकारी भवन जलमग्न बनेका थिए भने केही सवारीसाधन डुबानमा समेत परेका थिए ।