राष्ट्रपति पौडेलले गरे नागरिकता विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । बुधवार बिहान उनले विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता लीलाकान्त पौडेलले भने यसबारे केही बेरमा विज्ञप्तिमार्फत् जानकारी दिने बताए । विधेयक प्रमाणीकरण भएको संकेत गर्दै उनले  भने, ‘प्रमाणीकरण हुने कुरा हो । यसबारे केही बेरमा विज्ञप्ति आउँछ ।’

यसअघि सरकारले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति रामचन्द्र पौडेलसँग आग्रह गरेको थियो । गत शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति पौडेलसँग आग्रह गर्ने निर्णय गरेको थियो ।

यसअघि संसद्‍को दुवै सदनबाट प्रमाणीकरणका लागि विधेयक शीतल निवास पुगे पनि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी थिइनन् । संसद्का दुवै सदनले पारित गरेको नागरिकता विधेयक ०७९ साउन १६ मा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमाणीकरणका लागि पठाइएको थियो। तर, तत्कालीन राष्ट्रपति भण्डारीले संसद्लाई फिर्ता पठाएकी थिइन् ।

दुवै सदनले दोस्रो पटक विधेयक हुबहु पारित गरेर भदौ २० मा राष्ट्रपतिकहाँ पठाएको थियो।