लुम्विनी र कपिलवस्तुको विषयमा कुरा उठाउलान् प्रधानमन्त्री दाहालले ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल आज बुधबार भारत भ्रमणमा जाँदै छन् । भारत भ्रमणका बेला दुई देश वीचमा पारवहन तथा विभिन्न सन्धी आपसी हितका विषयमा कुरा हुने भनिएको छ । तर, प्रधानमन्त्री भारत भ्रमणको केही दिन अघि मात्र अर्थात गत आइतबार भारतले आफ्नो नयाँ संसद भवनमा राखेको ‘अखण्ड भारत’ को नँक्सामा नेपालका विभिन्न महत्वपूर्ण स्थानहरु समेत समेटेको छ ।

एकातिर दुईदेश वीचको सम्वन्धलाई सुमधुर बनाउनका लागि भन्दै प्रधानमन्त्रीलाई निम्तो दिन भारतले आईतबार नेपाली जनताको मन दुख्ने गरी किन लुम्विनी, कपिलवस्तु लगायतका क्षेत्र अखण्ड भारतको नक्सामा समेटेको हो ? यस विषयमा प्रधानमन्त्री दाहालले प्रश्न उठाउन सक्लान् ।

नेपालका लुम्बिनी र कपिलवस्तु लगायतका भुभागहरु समेटेर भारतले आफ्नो नयाँ संसद भवनमा बनाएको भित्ते नक्साले यो भ्रमण खल्लो बनाउने मात्र होइन । प्रधानमन्त्री दाहाललाई नेपाल मेरो मातहतमा छ भन्ने खालको दम्भ पनि देखाएको संकेत गर्दछ । भारतले बनाएको सो अखण्ड भारत भित्ते नक्सामा पाकिस्तान, अफगानिस्तान, बंगलादेश, भुटान, म्यानमार, र श्रीलंकाका भुभागहरुसमेत समेटेको छ ।

विवादित उक्त नक्सामा विगतका महत्वपूर्ण अधिराज्य तथा सहरहरुलाई समावेश गरिएको भन्दै भारतीय सञ्चार माध्यामहरुले विश्लेषण गरिरहेका छन् ।

इतिहास अध्ययन गर्न शैक्षिक र वैचारीक बाटो समाउन छाडेर नक्शा जारी गर्नुले भारत सरकारको छिमेकीसँग निहँु खोज्ने नियत प्रष्ट देखिन्छ । भारतले जारी गरेको नक्शाको अखण्ड भारत नक्सामा समेटिएका देशहरुले चौतफी विरोध भईरहँदा नेपाल सरकारले अहिलेसम्म कुनै टिप्पणी गरेको छैन । यसअघि लिम्पियाधुरा, लिपुलेकदेखि कालापानीको नेपाली भूमि भारतले आफ्नो नक्सामा समेटेपछि यसको तीब्र विरोध भएको थियो ।

केपी शर्मा ओली नेतृत्वको तत्कालिन सरकारले उक्त भूभागहरु समेटेर तयार पारेको चुच्ने नक्सा संसदबाट पारित गरी प्रचलनमा रहेको छ । तर यतिबेला भने प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जाने तयारी गरिरहँदा लुम्बिनीसहित कपिलवस्तुका भूभागहरु समेटेर तयार पारेको नक्सा हालै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेको भारतको नयाँ संसद भवनमा राखिएको छ ।