जुम्लामा नसर्ने रोगसम्बन्धी ‘पेन’ कार्यक्रम लागू

जुम्ला, १ मंसिर । कर्णालीको जुम्लामा पहिलोपटक नसर्ने रोगसम्बन्धी प्याकेज कार्यक्रम ‘पेन’ आजबाट लागू भएको छ ।
यहाँका स्वास्थ्यकर्मी र सरोकारवालाहरुलाई नसर्ने रोगसम्बन्धी आवश्यक जानकारी गराउने उद्देश्यले स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग र प्राथमिक स्वास्थ्य सेवा पुनर्जागरण महाशाखा टेकुको आयोजनामा जिल्लास्तरीय अभिमुखीकरण कार्यक्रम आज यहाँ गरिएको छ । पुनर्जागरण महाशाखाका जनस्वास्थ्य अधिकृत सुदीप आलेले विश्वमा ८० प्रतिशत मानिसको मृत्यु नसर्ने रोगका कारण हुने गरेको जानकारी दिनुभयो ।
“सन् २०११ को तथ्यांकअनुसार नेपालमा ६० प्रतिशत मानिसको मृत्युका कारण नसर्ने रोग देखिएको छ । ३० प्रतिशतको सर्ने रोग, सुत्केरी अवस्था, मातृस्वास्थ्य र पोषणको अभावका कारण मृत्यु हुने गरेको छ भने १० प्रतिशतको मृत्युका कारण दुर्घटना भएको छ”, उहाँले भन्नुभयो । त्यसको रोकथामका लागि सरकारले मुलुकका ३० जिल्लामा यो कार्यक्रम लागू गरेको पनि उहाँले जानकारी दिनुभयो ।
डा. राजु गुरुङले नसर्ने रोगका प्रमुख कारण धूम्रपान, मद्यपान, निष्क्रिय जीवन र अस्वस्थ खाना भएको उल्लेख गर्दै यिनको सेवनबाट मुटु तथा रक्तनली, दीर्घ श्वासप्रश्वास, मधुमेह र क्यान्सरजस्ता डरलाग्दा नसर्ने रोग लागेर मान्छेको अकालमा ज्यान जाने गरेको बताउनुभयो ।

उहाँका अनुसार नेपालको कूल मृत्युदरमध्ये ६० प्रतिशतको नसर्ने रोगका कारण मृत्यु हुने गरेको छ ।