घुस लिँदा ६ प्रहरीको जागिर धरापमा

काठमाडौँ । घुस लिँदा ६ जना प्रहरी निलम्बनमा परेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीअन्तर्गतका कार्यालयमा कार्यरत पाँच र एक जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा कार्यरत प्रहरी निलम्बनमा परेका हुन् । सेवाग्राहीसंँग रकम लिँंदै गरेको अभियोगमा उनीहरुलाई नियन्त्रणमा लिई निलम्बन गरिएको प्रहरीले जनाएको छ ।

वाग्मती प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले सेवाग्राहीसंँग रकम लिँंदै गरेका अवस्थामा उनीहरुलाई यही साउन २१ गते नियन्त्रणमा लिएको थियो । प्रदेश प्रहरी कार्यालयका सूचना समन्वय अधिकृत रोशन थापाका अनुसार जिल्ला प्रहरी कार्यालयका पाँच र जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा कार्यरत एक गरी ६ प्रहरी कर्मचारी निलम्बित छन् ।

उनीहरुलाई सवारी चालकसंँग विभिन्न बहानामा रकम लिएको भेटिएपछि नियन्त्रणमा लिई प्रदेश प्रहरी कार्यालय हेटाँैंडामा झिकाइएकामा थप छानबिन गर्न हाललाई मङ्गलबार निलम्बन गरिएको सूचना अधिकारी थापाले जानकारी दिए । उनका अनुसार निलम्बन पर्नेमा दुई प्रहरी हवल्दार र चार प्रहरी जवान छन् ।


निलम्बनमा पर्नेमा जिल्ला प्रहरी कार्यालय सिन्धुली र सोअन्तर्गतका कार्यालयमा कार्यरत प्रहरी हवल्दार राजकुमार श्रेष्ठ र डोरबहादुर कार्की तथा प्रहरी जवान कुमारबाबु सिंह, धीरेन्द्र साह र रामकुमार थापा छन् । यस्तै जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकअन्तर्गतको इलाका प्रहरी कार्यालय मङ्गलटारमा कार्यरत प्रहरी जवान नवीनबहादुर थापालाई निलम्बन गरिएको सूचना अधिकारी थापाले जानकारी दिए ।


निलम्बनमा पर्ने प्रहरी कर्मचारी जिल्ला प्रहरी कार्यालय सिन्धुली तथा इलाका प्रहरी कार्यालय भिमान, खुर्कोट, मङ्गलटार, प्रहरीचौकी ढुङ्ग्रेबास र अस्थायी ट्राफिक प्रहरीचौकी भिमानमा कार्यरत थिए । निलम्बित प्रहरी कर्मचारीका सम्बन्धमा थप छानबिन गर्न प्रदेश प्रहरी कार्यालय हेटौंँडाले प्रहरी नायब उपरीक्षक विज्ञान बस्नेतका संयोजकत्वमा तीन सदस्यीय छानबिन टोली गठन गरेको उहाँले जानकारी दिए । आफ्नो ड्युटीमा इमान्दारी प्रदर्शन गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत गर्ने र गैरव्यावसायिक कार्यमा संलग्नलाई कारवाही गरी प्रहरी सेवालाई मर्यादित बनाउने कार्यलाई वाग्मती प्रदेश प्रहरीले विशेष अभियान सञ्चालन गरिरहेको बताइएको छ ।