नेप्से: आइटी पोलिसी अनुमोदन, के हुँदैछ एपीआई ?

नेपाल स्टक एक्चेन्ज (नेप्से) ले आइटी पोलिसी अनुमोदन गरेको छ । नेप्से सञ्चालक समितिको केही दिन अघि बसेको बैठकले आइटी पोलिसी पारित गरेको हो । यस पोलिसीले अनलाइन लगायत सूचनाप्रविधि सम्बन्धी व्यवस्थालाई थप प्रभावकारी बनाउनेछ । तथापि, आइटी पोलिसी भित्र पर्ने एपीआई (एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस) नीति भने अनुमोदन भएको छैन ।

नेपाल धितोपत्र बोर्डले आइटी पोलिसी अन्तर्गत राखेको एपीआईलाई बेग्लै पोलिसी बनाउन निर्देशन दिएकाले एपीआई नीतिले अन्तिम रुप लिन बाँकी भएको नेप्से स्रोतले बताएको छ ।
धितोपत्र बोर्डले नेप्सेले तयार पारेको मस्यौदामा सुधार गर्न आवश्यक भएको सुझाव दिएको थियो । सोही अनुसार नेप्सेले सुधार गरेर आइटी पोलिसी पास गरेको हो । नेप्से सञ्चालक समितिले अनुमोदन गरिसकेपछि अब यस आइटी पोलिसीलाई धितोपत्र बोर्डले पारित गरिरहनु नपर्ने धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिए । योसँगै आइटी पोलिसी अबको केही समयमा नै कार्यान्वयनमा आउन सक्ने भएको छ ।

विगत लामो समयदेखि चर्चामा रहेको आइटी पोलिसी कार्यान्वयमा आएपछि यसले पूर्ण अनलाइन कारोबारलाई सहज तथा सफल बनाउन सहयोग पुग्ने अपेक्षा सरोकारवाला निकायको रहेको छ ।

एपीआई पोलिसीको मस्यौदा तयार भइसकेको छ । यसमा अन्तिम छलफल भइरहेको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले नेपाली पैसालाई जानकारी दिए । उनले भने, ‘हामीले एपीआई पोलिसीको मस्यौदा तयार गरिसकेका छौं । यसमा अब अन्तिम छलफल हुँदैछ ।’ अबको केही दिनमै पोलिसी पारित गर्ने तयारी भइरहेको उनले जानकारी दिए । नेप्से सञ्चालक समितिले अनुमोदन गरेसँगै एपीआई पोलिसी कार्यान्वयनमा लगिने उनले बताए । एपीआई पोलिसी कार्यान्वयनमा आएपछि ब्रोकर कम्पनी र स्टक डिलरलाई काम गर्न थप सहज हुनेछ ।

नेप्सेले निश्चित रकम लिएर ब्रोकर लगायत आवश्यक पर्ने अन्य संस्थाहरुलाई समेत एपीआई दिने तयारी गरेको छ । यसका लागि नेप्सेले निश्चित मापदण्ड बनाएको छ । त्यसैको आधारमा एपीआई उपलब्ध गराउने नेप्सेले जानकारी दिएको छ । यता, एपीआई पोलिसी आएसँगै ब्रोकर कम्पनीहरुले आफ्नो बेग्लै टीएमएस बनाउन सक्नेछन् । फलस्वरुपः अहिले लगानीकर्ताले खेप्नुपरेका अनलाइन कारोबार सम्बन्धी कतिपय समस्या समाधान हुने अपेक्षा गरिएको छ ।

अहिले नेप्सेको टीएमएसमा बेलाबेलामा लग इन नहुने, खरिद बिक्री आदेश नदेखिने जस्ता करणले लगानीकर्ताले हैरानी खेप्नुपरेको ब्रोकरहरुले दाबी गरेका छन् । एपीआई नीति आएपछि आफ्नो अलग्लै टीएमएस ल्याउन ब्रोकरहरु तयार रहेको स्टक ब्रोकर्स एसोसिएसनका आध्यक्ष भरत रानाभाटले बताए । उनले भने, ‘नेप्सेले ब्रोकरहरुलाई एपीआई तथा यससम्बन्धी आवश्यक नीतिनियम बनाइदिएमा अलग्गै टीएमएस बनाउन आफूहरु तयार रहेको पनि उनले बताए ।’