नासुले चलाएको टोखा मालपोतमा डेढ करोड लिएर स्मार्ट सिटी भित्रको जग्गा कित्ताकाट

काठमाडौं । नेपालमा घुस विना काम नहुने ठाउँ हो भनेर मालपोत कार्यालयलाई चिनिन्छ । टोखा मालपोतमा पनि त्यस्तै भइरहेको छ ।
सरकारले स्मार्टसिटिको जग्गा ८ आनाभन्दा कम कित्ताकाट नहुने र अहिले कित्ताकाट नै रोकिएको समयमा टोखा मालपोत कार्यालयका केही कर्मचारीले कित्ताकाट गरेर पैसा कमाउने थालेका छन् ।
स्रोतका अनुसार हिजो (बुधवार) मात्रै १ करोड ४० लाख रुपियाँ लिएर साबिक साङ्ला गाविसको करिब ५० वटा कित्ताकाट भएको छ ।
विगत ४ वर्षदेखि सो मालपोतको एउटै फाँटमा बसेर काम गरिरहेका कर्मचारीको मिलेमत्तोमा ५० कित्ताभन्दा धेरै जग्गा कित्ताकाट भएको स्रोतले बताएको छ ।
सरकारले स्मार्टसिटी बनाउने सहर भित्र कुनै पनि जग्गाको कित्ताकाट नहुने भनिरहको समयमा पैसा खाएर निरन्तर कित्ताकाट भइरहेको स्रोतले जानकारी दिएको छ ।
स्मार्ट सिटीका लागि काम गर्ने उपत्यका विकास प्राधिकरण र भूमि व्यवस्था विभागले निर्माणधिन स्मार्ट सिटी भित्र नै पैसा खाएर ८ आनाभन्दा कम जग्गा कित्ताकाट हुँदा कानमा तेलहालेर बसिरहेको छ ।
सरकारले कित्ताकाट रोकेको समयमा पैसा खाएर कित्ताकाट गराउनेहरुको पनि बिगबिगी नै छ ।