वाइडेनले ट्रम्पकालीन के के मुद्दाहरु रद्द गर्ने भए ?

आज राति अमेरिकी राष्ट्रपतिको शपथ लिने तयारीमा रहेका जो बाइडेनले कार्यकारी आदेश एक्जिक्युटिभ एक्सनमा हस्ताक्षर गर्दै ट्रम्पकालीन मुद्दाहरु रद्द गर्ने भएका छन् ।

यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले लागु गरेका कतिपय निर्णय उल्ट्याउनुका साथै कोरोना महामारी र जलवायु परिवर्तनबारे आफ्ना प्रारम्भिक योजनाहरु लागु गर्ने उनका सहयोगीहरुले बताएका छन्। महामारी, अर्थतन्त्र, जलवायु परिवर्तन र जातीय असमानतासँग जोडिएका समस्याहरुलाई सम्बोधन गर्न ती आदेशहरुमा हस्ताक्षर गर्ने सञ्चार मन्त्रीको जिम्मेवारी लिन लागेकी जेन साकीले जानकारी गराएकी छन्

साकीका अनुसार सपथ ग्रहणपछि बाइडेनले ओभल अफिसबाट ती निर्णय कार्यान्वयन गर्नका लागि सम्बन्धित निकायलाई आवश्यक काम कारबाही अघि बढाउन निर्देशन दिइनेछ ।

सुरुमै अमेरिकाका केन्द्रीय निकायहरु र त्यहाँ कार्यरत कर्मचारीलाई मास्कसम्बन्धी अधिकार प्रदान गर्ने र कोरोना भाइरससँग सम्बन्धित मामिलामा समन्वय गर्नका लागि राष्ट्रपति कार्यालय ह्वाइट हाउसमै एउटा नयाँ कार्यालय स्थापना गर्न पनि आदेश दिइने साकीले बताइन् ।

पेरिस जलवायु सम्झौतामा अमेरिका पुनः सहभागी हुने र जलवायु परिवर्तनका समस्या समाधान गर्न व्यापक कदमहरु चाल्ने निर्णय उनले लिनेछन्। यसअघि ट्रम्पले किस्टोन एक्सएल आयल पाइपलाइनलाई दिइएको राष्ट्रपतीय स्वीकृति पनि रद्द गरिनेछ। ट्रम्प प्रशासन पेरिस जलवायु सम्झौताबाट बाहिरिएको थियो। ट्रम्प प्रशासनको यो भूल रहेको वाइडेनको अभिमत छ ।

बाइडेनले अप्रवासीसम्बन्धी बिभिन्न निर्णय गर्दै धेरै ट्रम्पकालीन निर्णयहरु उल्ट्याउने छन्। सीमामा पर्खाल लगाउने निर्णय र मुस्लिम बाहुल्य रहेका मुलुकबाट अमेरिका यात्रामा लगाइएका बन्देजहरु हटाइने भएको छ । यो वाइडेनको चुनावी नारामै समेटिएको थियो ।

कार्यकालको पहिलो दिन सुरुवात गरिने योजनालाई आउने दिनमा गरिने शृंखलाबद्ध आदेशहरुको सुरुवाती चरणको रुपमा बुझ्न सकिने साकीले बताइन् ।

आउने दिनहरु र हप्ताहरुमा हामीले यस्ता थप कार्यकारी आदेशहरु घोषणा गर्नेछौं र चुनावका बेला अमेरिकी जनतासँग गरिएका प्रतिबद्धता कार्यान्वयन गर्दै जानेमा आश्वस्त हुन सकीले अमेरिकी जनतालाई आश्वासन दिइन् ।

त्यसैगरी, ट्रम्पको कार्यकालमा ट्रान्सजेन्डर अमेरिकीहरुलाई सैनिक सेवामा लगाइएको बन्देज हटाउने र विदेशमा गर्भपतनसम्बन्धी कार्यक्रमका लागि दिइने आर्थिक सहयोग रोक्ने ट्रम्पकालीन नीतिलाई पनि वाइडेनले मन पराएका छैनन् । यो पनि उल्टन सक्ने साकीले बताएकी छन् ।