एमालेले मदन भण्डारीको नाम दुरुपयोग गरेर पैसा र प्रतिष्ठा आर्जन गर्न खोज्यो : प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले पतनको बाटोमा अघि बढिरहेको बताएका छन्।

सुरेश वाग्ले र भिमसेन पोखरेलको २२ औं स्मृति दिवसको अवसर पारेर बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले एमालले सूर्य चिह्न र मदन भण्डारीको दुरुपयोग गरेर पैसा र प्रतिष्ठा आर्जन गर्न जानेको टिप्पणी गरेका हुन्।

उनले भने, ‘एमाले भन्ने पार्टी त्यहाँ विचार शून्य छ अहिले। त्यहाँ विचारमा बहस पनि हुँदैन। विचारसँग मतलव पनि छैन। उनीहरुसँग पद प्राप्त गर्ने तरिका छ। राष्ट्रिय अन्तराष्ट्रिय साम्राज्यवादीहरुसँग साँठगाँठ गरेर डलर ल्याउने तरिका जान्या छन्। त्यो पैसा खर्च गरेर कसरी गुट बलियो बनाउन सकिन्छ भन्ने जानेका छन्। चुनाव जित्न गर्नुपर्ने साम, दाम, दण्ड, भेद जालझेल षडयन्त्रमा अलि पारङ्गत नै भएका छन्। र उनीहरुको एकताको आधार विचार राजनीति हुँदैन अहिले लोगो हुन्छ। सूर्य त्यही हो एमाले। त्यो भएपछि सिद्धियो अब। त्यो सूर्यभित्र के भइसक्यो भन्ने त्यहाँ त्यो डिबेट हुँदैन।’

उनले थपे, ‘अनि मदन भण्डारी, जसलाई कसैले त्यस्तो षडयन्त्र गर्‍यो, त्यसको खोजी कसरी गर्ने, अपराधिलाई कसरी सजाय दिने त्यहाँ त्यो चिन्ता हुँदैन। आफूलाई उत्तराधिकारी हुँ भन्नेहरु नै राष्ट्रपति र प्रधानमन्त्री हुँदा त्यो बारेमा चर्चा हुँदैन। खोजी हुँदैन। के भएको हो मदन भण्डारीलाई। र मदन भण्डारीले कुन परिस्थितिमा के विचार ल्याउनु भएको र अहिले परिस्थिति कहाँ पुग्यो भन्ने चर्चा, परिचर्चा, बहस त्यहाँ हुँदैन। खाली हुन्छ मदन भण्डारी लोगो। र त्यो मदन भण्डारीलाई प्रयोग गरेर पद प्राप्त गर्नु। सुविधा प्राप्त गनु। गुट बलियो बनाउनु। त्यस्तै देखियो नि त। ३ वर्षदेखि त हामीले सकिन्छ कि बदल्न भनेर त आँट गरेकै हो। तर त्यहाँ त्यो प्रवृत्तिनै हावी देखियो। हुँदाहुँदै त्यो प्रवृत्ति कहाँ पुगेछ त भन्दा प्रतिक्रान्ति, प्रतिगमनकारी, राम, सिता, लक्ष्मणको मूर्ति बोकेर हिँडने जलहरी रे कता हो? मार्क्सवाद भन्न नहुने, समाजवादको नाम धेरै लिन नपाइने, नहुने। त्यस्तोमा गयो तर नाम त मदन भण्डारीको लिएकै छ, फेरि। जबज भनेपछि भयो। त्यसरी एमाले पतनको डिलमा पुगेको छ।’

अध्यक्ष दाहालले साम्राज्यवादीहरुबाट साँठगाँठ गरेर डलर कमाउन सिकेको एमाले नेतृत्वले गुटलाई बलियो बनाउने काम मात्रै गरिरहेको बताए।

उनले आफ्ना पार्टीका नेता, कार्यकर्तालाई पद, पैसा र प्रतिष्ठाको पछि नलाग्न पनि पटक–पटक सचेत गराएका थिए।