दुईपटक स्थगित भएको १२ कक्षाको परीक्षा आजबाट शुरु, पौने चार लाख विद्याथी सहभागी

काठमाडौं । कोभिड १९ का कारण २ पटक स्थगित भएको कक्षा १२ को परीक्षा आजबाट सञ्चालन शुरु भएको छ । आजबाट शुरु भएको १२ कक्षाको परीक्षामा ३ लाख ७४ हजार ४ सय १३ परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षामा सहभागी सबै विद्यार्थीलाई कोभिडविरुद्धको खोप लगाएपछि परीक्षा सञ्चालन भएको हो ।

आजबाट शुरु हुने परीक्षामा आफ्नै विद्यालयमा परीक्षा केन्द्र कायम गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार४ हजार ३ सय १५ विद्यालयमा होम सेन्टर कायम गरिएको छ। परीक्षाको समन्वय प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा गठित जिल्ला परीक्षा समितिले गर्नेछ । परीक्षामा १ हजारभन्दा बढी विद्यार्थी भएका ३४, ५ सयभन्दा बढी विद्यार्थी भएका ८९, सयभन्दा कम विद्यार्थी भएका करिब ३ हजार ४ सय, ५० भन्दा कम विद्यार्थी भएका २३, २५ भन्दा कम विद्यार्थी भएका करिब १ हजार १ सय विद्यालयमा परीक्षा हुन लागेको समेत बोर्डले जनाएको छ ।

बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले परीक्षाको प्रश्नपत्र निर्माणदेखि इन्टरनेट नपुगेका १ सय १३ केन्द्रमा प्रश्नपत्र पठाइएको र बाँकी केन्द्रमा परीक्षा हुनु आधा घण्टाअघि इमेलमार्फत प्रश्नपत्र पठाइने बताए । बोर्डले सबै केन्द्रलाई फरक–फरक पासकोर्ड दिएर प्रश्नपत्र प्रिन्ट गर्न सक्ने व्यवस्था गरेको छ ।

सीसीएमसीले परीक्षा सञ्चालन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएपछि बसेको बोर्डको बैठकले परीक्षाको मिति तय गरेको थियो ।

त्यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी० ले परीक्षा स्थगित गर्न सिफारिस गरेपछि बोर्डले परीक्षा स्थगित गरेको थियो ।

परीक्षामा सिट प्लान गर्दा २ मिटर दूरी राखेर अंग्रेजी अक्षर जेड ढाँचामा हुनुपर्ने, विद्यार्थीहरू भीड नियन्त्रण गर्न परीक्षा केन्द्रमा १ घण्टा ३० मिनेटअघि नै पुग्नुपर्ने सुझाव दिइएको थियो । सोही सुझावको आधारमा पूर्ण स्वास्थ्य मापदण्ड पालना गरी परीक्षा सञ्चालन गर्न सबै केन्द्राध्यलाई निर्देशन दिएको बोर्डले जनााएको छ ।