महामन्त्री कोइरालाले दाबी गरे डडेलधुरामा भएको अधिवेशन एकपक्षीय भयो

काठमाडौं । डडेलधुरामा संस्थापन पक्षले एक पक्षीय रुपमा गराएको वडा अधिवेशनलाई पुनः गराउन माग गर्दै पौडेले पक्षले निर्वाचन समितिको ध्यानाकर्षण गराएको छ।

बिहीबार पार्टी कार्यालयमा भेला भएर वरिष्ठ नेता रामचन्द्र पौडेलसहित महामन्त्री शशांक कोइराला, अर्जुननरसिंह केसी, डा.रामशरण महत, सुजाता कोइराला, गगन थापा, धनराज गुरुङलगायतले निर्वाचन समितिलाई पुनः अविधेशन गराउन माग गरेका हुन्।

निर्वाचन समितिसँग बस्नुअघि नेताहरुले आफ्नो समूहमा छलफल गरेका छन्। तर डडेलधुरामा पुन अधिवेशन हुने कुरामा वरिष्ठ नेता पौडेल र महामन्त्री कोइरालाबीच नै कुरा मिल्न सकेन।

पौडेलले बाँकी जिल्लाको वडा अधिवेशनका लागि तोकिएको असोज ५ गतेभित्र पुनः अधिवेशन हुनुपर्ने माग राखेका छन्।

तर कोइरालाले फेरि अधिवेशनको सम्भावना  नभएको पत्रकारहरुलाई बताए।

पार्टी कार्यालयबाट बाहिरिने क्रममा कोइरालाले भने, ‘डडेलधुरामा बल प्रयोग गरेर अविधेशन भएको छ। यसबारेमा हामीले निर्वाचन समितिको ध्यानाकर्षण गराएका छौँ। तर अब फेरि अधिवेशन हुने सम्भावना चाहिँ मैंले देखेको छैन।’

संस्थापन पक्षले भदौ २५ गते नै डडेलधुरामा एकलौटी रुपमा अविधेशन गरेको आरोप लगोको छ। जिल्लाबाट सिफारिस भएको भन्दा फरक व्यक्तिलाई केन्द्रबाटै क्रियाशिल सदस्यता दिइएको आरोप पौडेल पक्षमा रहेका जिल्ला सभापति कर्णबहादुर मल्ल बताउँदै आएको छ।

एक पक्षीय रुपमा तयार पारिएको क्रियाशिललाई अस्वीकार गर्ने भन्दै मल्ल पक्षले भदौ २५ गते भएको वडा अधिवेशन बहिस्कार गरेको थियो।