काठमाडौं। निजामती कर्मचारीमा पार्टीगत ट्रेड युनियन हट्ने भएको छ । हरेक दलै पिच्चेका ट्रेड युनियन निजामती कर्मचारीमा हटाउन सत्तारुढ दुई दल काँग्रेस र नेकपा (एमाले)सहमत भएका हुन् । बिहीवार राज्य व्यवस्था समितिको बैठकमा संघीय निजामती सेवा विधेयकमाथिको छलफलमा कर्मचारीका ट्रेड युनियनबारे दुई दलका प्रमुख सचेतकले समान धारणा राखेका हुन् ।
विधेयकका सम्बन्धमा पार्टीका प्रमुख सचेतक तथा सचेतकहरुसँगको छलफलमा बोल्दै नेपाली काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले कर्मचारीहरुलाई दलगत ट्रेड युनियन खोल्न दिन नहुने बताए । उनले कानूनमा समेत सरकारी संस्थामा आवद्ध व्यक्तिले कुनै पनि पार्टीको सदस्यता लिन नपाउने व्यवस्था गरेको बताए। उनले कर्मचारीहरुको एउटा मात्र ट्रेड युनियन राख्नुपर्ने धारणा राखे ।
निजामती कर्मचारीका लागि एउटा मात्र ट्रेड युनियन राख्नुपर्ने र अधिकृतभन्दा माथिल्लो दर्जाका कर्मचारीले त्यसको सदस्यता लिन नपाउने व्यवस्था गर्नुपर्ने उनलको सुझाव छ । उनले भने, ‘यो पार्टीगत ट्रेड युनियन त खोल्न दिनै हुँदैन । नेपालको कानूनले पनि सरकारी पेरोलमा रहेकाहरुले कुनै पनि पार्टीको सदस्यता लिन पाइदैन भनेर व्याख्या गरेको छ । त्यसैले हामीले यो ट्रेड युनियनहरु हामीले चाहिँ बोर्ड जम्मै झुन्ड्याएर घर बनाइदिएर राखेका छौं ।
यो सबै पार्टीले गरेका छौं । यो पार्टीकै धारणा हो । चिफ ह्विपले राखेपछि त पार्टीकै धारणा त होला नि । यो पार्टीगत पार्टीगत ट्रेड युनियन त हटाउनै पर्यो र एउटा मात्र ट्रेड युनियन राख्दाखेरि अफिसर लेभललाई इन्ट्री गर्न दिने हो कि होइन रु म त भन्छु दिनु हुँदैन ।’
Add Comment