२ पूर्वरक्षामन्त्रीलाई भ्रष्टाचार आरोपमा सम्पत्ति जफतसहित मृत्युदण्ड सजाय

काठमाडौं । भ्रष्टाचार गरेको आरोपमा पूर्व रक्षामन्त्रीलाई सम्पत्ति जफलत सहित मृत्युदण्डको सजाय सुनाइएको छ । छिमेकी मुलुक चीनले भ्रष्टाचारको मामिलामा दुई पूर्व रक्षामन्त्री ली साङ्फु र वेई फेङ्गेलाई मृत्युदण्डको सजाय सुनाएको त्यहाँको सरकारी समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । मृत्युदण्ड अघि दुवैलाई पहिले २ वर्ष जेलमा राखिनेछ।

यदि उनीहरूले ती दुई वर्षसम्म कुनै नयाँ अपराध गरेनन् भने सजायलाई आजीवन कारावासमा परिणत गर्न सकिनेछ।
ली साङ्फुलाई गत वर्ष अचानक पदबाट हटाइएको थियो, जबकि वेई फेङ्गे पनि सैन्य भ्रष्टाचार अनुसन्धानको दायरामा आएका थिए। त्यसपछि सन् २०२४ मा दुवैलाई चीनको सत्तारूढ कम्युनिस्ट पार्टीबाट निष्कासन गरिएको थियो।

विज्ञहरूका अनुसार, यो कारबाही राष्ट्रपति सी जिनपिङको भ्रष्टाचारविरोधी अभियानको हिस्सा हो। विगत केही वर्षयता चीनको सेना र रक्षासँग जोडिएका धेरै वरिष्ठ अधिकारीहरूमाथि कारबाही गरिएको छ।
चीनका पूर्व रक्षामन्त्री ली साङ्फुलाई गत वर्षको अक्टोबरमा अचानक पदबाट हटाइएको थियो। उनी करिब दुई महिनासम्म सार्वजनिक रूपमा देखा परेका थिएनन्, जसले गर्दा धेरै किसिमका अड्कलबाजीहरू सुरु भएका थिए।

अहिले पहिलोपटक चिनियाँ अधिकारीहरूले आधिकारिक रूपमै उनीविरुद्ध भ्रष्टाचारसँग जोडिएको अनुसन्धान चलिरहेको कुरा स्वीकार गरेका छन् ।

सीसीटीभीको रिपोर्टअनुसार सैन्य अनुशासन अनुसन्धान एजेन्सीले लीले ‘गम्भीर रूपमा पार्टीको अनुशासन र कानुनको उल्लङ्घन’ गरेको पाएको बताएको छ। उनीमाथि ठूलो मात्रामा घुस लिएको, अरूलाई घुस दिएको र पदको दुरुपयोग गरेको आरोप लगाइएको छ।

रिपोर्टमा भनिएको छ( लीका गतिविधिहरूले सेनाको हतियार विकास र सैन्य उपकरणहरूको छविमा भारी नोक्सान पुर्‍याएको छ।