सार्वजनिक खरिद ऐन नै विपद् व्यवस्थापनको वाधक : गृहमन्त्री

काठमाडौँ । विपद् व्यवस्थापनमा केही कानुन बाधकका रुपमा देखिएको गृहमन्त्री सुधन गुरुङले बताएका छन् । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा गृहमन्त्री गुरुङले विपद् व्यवस्थापनसँग आवश्यक उपकरण खरिदमा ऐन नै बाधक भएको बताएका हुन् । अप्ठ्यारोमा परेका नागरिकको उद्धारका लागि अहिले विश्वबजारमा सुविधा सम्पन्न उपकरणको उपलब्धता भए पनि सार्वजनिक खरिद ऐनका कारण मनसुनको समयमा ती सामग्री प्रयोग गर्न नसकिने अवस्था देखिएको उनले बताए ।

“अहिले २०० किलो ‘लिफ्टिङ’ गर्ने ड्रोन आएका छन् । सार्वजनिक खरिद ऐनअनुसार सो उपकरण किन्न डेढ महिनाभन्दा बढी चाहिन्छ, प्रक्रिया पु¥याएर खरिद गर्दा मनसुन सकिन्छ”, गृहमन्त्री गुरुङले भन्नुभयो, “यो कस्तो ऐन हो ? काम गर्न सजिलो हुनेगरी ऐन बनाइदिएको भए हामीले पनि केही गर्थ्यौँ होला ।”

आफू एक दशकदेखि विपद्का समयमा नागरिकको सेवामा खटिँदै आएको स्मरण गर्दै मन्त्री गुरुङले सिन्धुपाल्चोकमा र काभ्रेपलाञ्चोकमा पहिलो पटक उच्च भारवहन क्षमताको ड्रोनमार्फत राहत वितरण गरिएको समेत बताए । उनले उपत्यकाका नदी किनारमा जोखिमयुक्त अवस्थामा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको बताउँदै नदी किनाराबाट होल्डिङ सेन्टरमा राखिएका नागरिकको अवस्था बुझ्न स्थलगत अनुगमन गर्ने तयारीमा रहेको गृहमन्त्री गुरुङले जानकारी दिए ।