अपराधको नयाँ काइदा, हाते डायरीहरूमा चरेस पार्सल

काठमाडौं । हस्तकलामा सामग्रीभित्र लागु औषध चरेस राखेर ओसारपसार गर्दै आएका नौ जना पक्राउ परेका छन्।

नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्यूरोले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी हस्तकलाका सामग्रीभित्र चरेस राखेर ओसारपसार गर्दै आएका म्याग्दीका श्यामप्रसाद रोका, वीरबहादुर रोका, दिलबहादुर रोका, धादिङका अनिलबहादुर घले, सुनबहादुर गुरुङ, याङकी भनिने जितबहादुर तामाङ, माइला भनिने कृष्णबहादुर तामाङ, नुवाकोटका सेसे भनिने उर्पा तामाङ र वीरबहादुर तामाङलाई सार्वजनिक गरेको हो।

उनीहरुको साथबाट कतार पठाउन हस्तकलाको सामानमा प्याक गरी राखेको ७ केजी ६१४ ग्राम चरेस बरामद गरिएको पनि ब्यूरोका प्रमुख एसएसपी हृदय थापाले जानकारी दिए।

कागजका हाते डायरीहरूमा सो चरेस पार्सल गरेर कतारलगायतका मुलुकहरुमा सो गिरोहले पठाउने गरेको पाइएको पनि ब्यूरोले जनाएको छ।

यसअघि उनीहरुले यसरी नै अचारको भाँडोमा समेत चरेस राखेर भारत हुँदै हङकङ, थाइल्याण्ड, टर्की लगायतका देशहरुमा पनि लागु औषधहरु ओसार पसार गर्दै आएको पनि अनुसन्धानमा पाइएको एसएसपी थापाले बताए। पक्राउ परेका उनीहरुलाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाइएको पनि प्रहरीले जनाएको छ।