ओली भन्छन्, पदक रत्नपार्कमा बसेर ह्वारह्वार बाँढेको जस्तै छ क्या !

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले वितरण गरेको पदकको विषयमा टिप्पणी गरेका छन् ।

मंगलबार जननेता मदन भण्डारीको जीवनीबारे लेखिएको पुस्तक श्वेत शार्दुल सार्वजनिकीकरण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले बुद्धिजीवी र नागरिक समाज मौन बसेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले पदक वितरण गरेर विरोधीको मुख थुन्न लागेको बताए । उनले न्यायाधीश, वकिल र पत्रकारलाई पदक वितरण गरेपछि सरकारको विरोधमा कसैले नबोल्ने पनि बताए । आफ्नो सरकारको पालामा विरोध गर्ने बुद्धिजीवी र नागरिक समाजहरुले अहिले देउवा नेतृत्वको सरकारले रत्नपार्कमा बसेर वितरण गरेको जस्तो ह्वारह्वार पदक वितरण गर्दा पनि विरोध नगरेको प्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।

उनले भने, ‘अस्तिको दिन वितरण गरिएको जस्तो पदक हामीले वितरण गरिएको भए बाबा । अहिले त निर्णय खारेज गर्ने अदालतलाई पनि वितरण गरिदिएको छ कसले खारेज गर्ने ? बहस गर्ने वकिललाई पनि वितरण गरिदिएको छ कसले बहस गर्ने ? विरोधमा बोल्ने टेलिभिजन, अखबार आदि इत्यादिलाई पनि वितरण गरिदिएको छ ती पनि चुपचाप कसले बोल्ने ? कस्तो सबैतिर ढ्याकढ्याक्ती ढोका थुन्ने । कतैबाट आवाज नआओस् । कतैबाट विरोधको स्वर नआओस् । कतैबाट उज्यालो नछिरोस् । सबैतिर अन्धकारमा चलाउने । विरोधी नै रहेनन् । हामीलाई कुनै टाउको दुखेको होइन । यति धेरै पदकहरु त कहिले पनि बाडिएको थिएन होला । रत्नपार्कमा बसेर वितरण गरिएको जस्तै छ क्या ह्वारह्वार । म प्रधानमन्त्री भएको बेला यसरी वितरण गरेको भए ओहो । के हुन्थ्यो ? बुद्धिजीवीहरुले के भन्थे ? नागरिक समाज के भन्थ्यो ? चुपचाप । आज रमाइलो छ सबै चुपचाप छन् । सञ्चो छ । शान्त छ ।’

अध्यक्ष ओलीले वर्तमान सत्तारुढले मन्त्रीको आकांक्षीलाई २५ जनाभित्रमा समेट्न नसकेका कारण मन्त्रीपरिषद् विस्तारमा ढिलाइ भएको टिप्पणी गरे । सरकारले युवापुस्तामा वर्तमान राजनीतिप्रति निराशा र वितृष्णा पैदा गर्ने काम गरेको उनको आरोप छ । उनले वर्तमान सरकारलाई ग्रहणको संज्ञा दिँदै त्यतातर्फ नहेर्न अनुरोध समेत गरे । सरकारतर्फ हेरे अशुभ हुने उनको तर्क छ ।

उनले भने, ‘जनतामा राजनीति प्रति निराशा, वैराग्य भाव, विरक्त, वितृष्णा पैदा गर्ने कोसिस भएको छ । जानीजानीकन ताकी पत्रकारलाई पनि पदक, उसलाई पनि पदक, वकिललाई पनि पदक बोल्ने कोेही नराखेजस्तै । यहाँ सबलाई निराशा बनाइदिने, युवाहरुलाई निराशा बनाइदिने, केहीपनि हुँदैन भन्ने पारिदिने । दिउँसै पनि ग्रहण लाग्यो भने ग्रहणतिर नहेर्नु भन्छन् । अहिले ग्रहण लागेको छ । यो ग्रहणतिर हेर्ने काम छैन । यो ग्रहण लागेको छ । अशुभ छ । २५ मा सहज हुन उहाँहरुलाई सहज भइराखेको छैन । गाह्रो त्यही हो । ७०, ७२ दिन किन पूर्णता पाउँदैन सरकारले ? कार्यकाल छ सबा बर्ष । सबा वर्षको २० प्रतिशत भाग गयो । खाली चिन्ता हो देशको बहुमूल्य समय बर्बाद भो । चिन्ता हो । दुरुपयोग भो चिन्ता हो । पदक मैले अस्तिको दिन बोल्दा भने पदक यदि बोल्न जान्दथ्यो भने त्यसका आँखा हुन्थे र आँशु हुन्थे भने बरबर रुन्थ्यो त्यो । धरधर रुन्थ्यो पदक । बोल्न जान्दथ्यो भने त्यसले नारा लगाउथ्यो उफ्रिएर । जान्ने हो भने मान्छेले होइन पदकले पनि बिद्रोह गर्थ्याे ।’

कार्यक्रममा अध्यक्ष ओलीले मदन भण्डारीको जीवनी समेटिएको पुस्तकले मदन भण्डारीको बहुआयामिक व्यक्तित्वको बारेमा समेटेको धारणा व्यक्त गरे । उनले भण्डारीले नेपाली राजनीतिमा पुर्‍याएको योगदानको चर्चा समेत गरेका थिए ।