पार्टी कब्जा गर्न नेताहरुले जिल्ला-जिल्लामा गुण्डागर्दी गरे : शेखर कोइराला

काठमाडौं । क्रियाशील सदस्यता विवादमा प्रदेश मन्त्रीले कार्यकर्तामाथि हातपात गरेको भन्दै कांग्रेसको संस्थापनइतर समूहले विरोध प्रर्दशन गरेको छ।

पार्टी कार्यालय सानेपामा मंगलबार भएको घटनाको विरोधमा पौडेल पक्षले बिहीबार विरोध जनाएको हो। कांग्रेसबाट प्रदेश २ सरकारमा सहभागी महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंहले सर्लाहीको बरहथवा नगरपालिका–४ का वडाध्यक्ष लाखिन्द्र महतोमाथि दुर्व्यवहार गरेका थिए।

सिंह सर्लाही क्षेत्र नबर ४ को १ बाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्यसमेत हुन्। संस्थापन पक्षमा रहेका उनी गत जेठमा प्रदेश २ सरकारमा कांग्रेसका तर्फबाट सहभागी भएका थिए।

क्रियाशील विवादकै कारण प्रदेश २ का आठवटै जिल्लाको क्रियाशील सदस्यहरुकाे सूची सार्वजनिक भएको छैन।

कार्यकर्तामाथि नियोजित रुपमा आक्रमण गरिएको भन्दै प्रकाशमान सिंह, शेखर कोइराला, अमरेशकुमार सिंहसहितका नेताहरुको उपस्थितिम सर्लाहीकै कार्यकर्ताले मन्त्री सिंहविरुद्ध प्रदर्शन गरेका हुन्।

विरोधसभालाई सम्बोधन गर्दै नेता कोइरालाले नेताहरुले पार्टी कब्जा गर्न गुण्डागर्दी भएको बताए।

‘हरेक दिन क्रियाशीलको बारेमा बिहान एउटा, दिउँसो एउटा र साँझ अर्को निर्णय हुन्छ’, कोइरालाले अगाडि भने, ‘पार्टी कब्जा गर्न नेताहरुको जिल्ला-जिल्लामा गुण्डागर्दी गर्नुभएको छ। यो कांग्रेसका कार्यकर्तालाई स्वीकार्य छैन। सभापतिको आफ्नै जिल्लामा प्रहरी लगाएर जिल्ला अविधेशन गरियो। कांग्रेसको ७५ वर्षको इतिहासमा अहिलेसम्म पुलिस लगाएर अधिवेशन भएको छैन।’

उनले मंगलबार भएको घटना कुनै पनि हालतमा स्वीकार्य नभएको बताए। ‘अहिले जुन घटना भयो, त्यो कांग्रेसका कार्यकर्तालाई कहिल्यै स्वीकार्य हुँदैन। यसले कांग्रेसका जुझारु कार्यकर्तालाई फरक पार्दैन। त्यस्ता व्यक्ति जिल्ला-जिल्लाबाट परास्त हुन्छन्’, कोइरालाले भने।

त्यस्तै नेता अमरेशकुमार सिंहले पार्टीमा ठेकेदार, गुण्डागर्दीको हालिमुहाली हुने अवस्था आएको ठोकुवा गरे। उनले भने, ‘पार्टीमा इमानदार व्यक्तिलाई पाखा लगाउने काम हुँदैछ। गुण्डागर्दी ठेकेदारले कब्जा गर्ने अवस्था आउँदैछ।’

प्रकाशमान सिंह विरोध कार्यक्रमप्रति ऐक्यबद्धता जनाएर फर्किए।